Main News

देशका धेरै ठाउँमा आज पनि भारी वर्षा, बाढी र पहिरोको जोखिम

हिमालय टिभी
२०७९ असोज २० गते ९:१५
देशका धेरै ठाउँमा आज पनि भारी वर्षा, बाढी र पहिरोको जोखिम

२० असोज २०७९ काठमाडौं । देशका अधिकांश स्थानमा वर्षा भएसँगै नदीमा बाढी आउने क्रम शुरु भएको छ ।

अहिले बर्दियाको बबई र पश्चिम राप्तीमा पानीको सतहले खतराको तह पार गरेकाले आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । महाशाखाले अहिले नारायणी देवघाटमा पानीको सतहले सतर्कता तह पार गरेको र जलसतह थप बढ्ने क्रममा रहेकाले आज साँझसम्म नै तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

अहिले विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा भारी वर्षा भइरहेको छ भने अरू प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार तुलनात्मक रुपमा प्रदेश १ र मधेस प्रदेशमा कम पानी परेको छ । तर स्थानीय वायु सक्रिय हुँदा झापाको थोरै ठाउँमा भने भारी वर्षा भएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही, गण्डकी प्रदेशका थोरै, बागमती, मधेश र प्रदेश १ का एकदुई स्थानहरूमा अत्यधिक पानी पर्ने सम्भावना छ । भारी वर्षा भएसँगै भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले कृषि, पर्यटन, पर्वतारोहणलगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने मौसमविद् बासीको भनाइ छ ।

हाल नेपालमा दक्षिणपश्चिम बङ्गालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले वर्षा गराइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *