विपन्नलाई उपलब्ध गराउन निर्माण थालिएको नमूना वस्ती अलपत्र (भिडियो रिपोर्टसहित)

२०७९ असोज १५ गते १८:०७
विपन्नलाई उपलब्ध गराउन निर्माण थालिएको नमूना वस्ती अलपत्र (भिडियो रिपोर्टसहित)

१५ असोज २०७९ विराटनगर । विपन्न नागरिकलाई घर उपलब्ध गराउन भनेर निर्माण थालिएको नमूना बस्ती अलपत्र परेको छ । बजेट अभावका कारण देखाउँदै घर निर्माण रोकिँदा दशैंमा नयाँ घर प्रवेशको आशा राखेका सुकुम्बासी अहिले निराश छन् ।

विराटनगरका देवनारायण शाह यसपालिको दशैं नयाँ घरमा मनाउने योजनामा हुनुहुन्थ्यो । तर, घर निर्माणको पहिलो चरणमा घरको चर मात्र उठाइएको छ । नमुना बस्तीमा घर निर्माण अघि बढेसँगै हौसिएका शाह घर निर्माण अलपत्र परेपछि निराश हुनुहुन्छ ।

देवनारायण जस्तै कतै जग्गा जमिन नभएका सुकुम्बासीको अवस्था पनि उस्तै छ । नयाँ घर पाउने आशामा बसेकाहरू दैनिक निर्माणस्थल पुग्छन् । र, अपुरो घर हेरेर फर्कने गरेका छन् ।

प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर महानगरपालिका, ह्याबिटेट फर ह्यूमानीटि नेपाल सहितका सरकारी र गैर सरकारी संस्थाको सहकार्यमा विराटनगर वडा नम्बर १२ मा नमुना बस्ती निर्माण सुरु गरिएको थियो । एकीकृत बस्तीमा एक सय ४५ घर निर्माणाधिन छन् । सुकुम्बासीलाई दशैं अघि नै नयाँ घर उपलब्ध गराउने भनिएपनि त्यसो हुन सकेन ।

कुल ३ बिघा १६ कठ्ठा ५ धुर क्षेत्रफलमा प्रतिपरिवार साढे ७ धुरका दरले जग्गा रजिष्ट्रेशन पास गरिएको थियो । कुल ५ करोड ८० लाखको लागतमा घर निर्माण सुरु भएको थियो । नमुना बस्तीमा घर निर्माणका लागि सुकुम्बासीसँग जग्गा खरिदका लागि भन्दै चार लाख रुपैयाँ लिइएको छ ।

स्थानीय जीवन विकास लघुवित्तबाट सुकुम्बासीहरुलाई ५ वर्षको भुक्तानी अवधि तोकेर सो रकम १४ दशमलव ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको थियो । जग्गा खरिद गरेको सुकुम्बासी परिवारले ऋण चुक्ता गर्न लघुवित्तलाई मासिक ७ हजार रुपैयाँ तिर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *