राजनीति

राप्रपाले उम्मेदवारको अन्तिम टुंगो नलगाउँदै मिश्रको हतारो (भिडियो रिपोर्टसहित)

२०७९ असोज १४ गते २१:३९
राप्रपाले उम्मेदवारको अन्तिम टुंगो नलगाउँदै मिश्रको हतारो (भिडियो रिपोर्टसहित)

१४ असोज २०७९ काठमाडौं । आफैंले स्थापना गरेको विवेकशील साझा पार्टीलाई अलपत्र पारेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिने औपचारिक घोषणा गर्नु भएको छ । राप्रपाले उम्मेदवारको अन्तिम टुंगो नलगाउँदै मिश्रले हतार हतार उम्मेदवारी घोषणा गर्नुलाइ स्वभाविक मानिएको छैन।

मंसिर ४ गतेका लागि तोकिएको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उम्मेदवारी घोषणा गरिसकेको छैन । उम्मेदवारको सूची घोषणाका लागि राप्रपा आन्तरिक छलफलमै छ ।

एमालेसँग गठबन्धनको तयारीमा पनि रहेको राप्रपाले केही दिनपछि मात्र उम्मेदवारको निर्क्यौल गर्ने भएको छ । तर, विवेकशील साझा छाडेर दुईदिनअघि मात्र राप्रपामा प्रवेश गरेका रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ ।

मिश्रले असोज १० गते विवेकशील साझाबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिनुभएको थियो । वैकल्पिक शक्तिको नारा दिएका मिश्र असोज १२ गते राप्रपामा समाहित हुनुभयो । राप्रपाले पनि उहाँलाई वरिष्ठ उपाध्यक्ष पद दियो । त्यसको दुईदिनपछि शुक्रबार उहाँले पत्रकार सम्मेलन गरेरै सांसदको उम्मेदवार बन्ने घोषणा गर्नुभयो ।

राजनीतिक दललमा आवद्ध भएपछि दलका आफ्नै नियम र पद्धति हुन्छन् । पदाधिकारी, केन्द्रीय समिति र संसदीय बोर्डको बैठक बसेर उम्मेदवारको टुंगो लगाउने दलीय प्रचलन हुन्छ । त्यो प्रक्रिया अवलम्बन नगरि मिश्रले आफ्नो उम्मेदवारी घोषणा गर्दा राप्रपाकै केही नेता आश्चार्य चकित बनेका छन् । हुन त राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ पार्टीकै सल्लाहमा मिश्रले उम्मेदवारी घोषणा गरेको बताउनुहुन्छ । तर, उम्मेदवारबारे पार्टीले कुनै निर्णय गरिनसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

उम्मेदवारी दिन हतार गर्ने मिश्रको कामले उहाँ पदका लागि लागि मात्रै राप्रपा प्रवेश गरेको जस्तो देखिएको छ । यो क्षेत्र यस अघि नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले जित्तै आएको क्षेत्र हो । आफ्नो उम्मेदवारी घोषणा गर्दै गर्दा मिश्रले १५ वर्षदेखि सांसद जित्तै आएपनि सिंहले काठमाडौंमा काम नगरेको आरोप लगाउनुभयो र आफूले नीतिगत सुधार गर्ने दाबीसम्म गर्नुभयो ।

मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देल, वरिष्ठ नेता पशुपतिशम्शेर जवरा लगायतका जिम्मेवार नेताहरु उपस्थित थिएनन् । उम्मेदवारी घोषणासंगै मिश्रले चुनाव खर्चका लागि चन्दा संकलन अभियान पनि सुरु गर्नु भएको छ । अब उहाँँ एकल नेता होइन, उहाँको चन्दा संकलन पनि राप्रपासँग जोडिन्छ । यसका लागि पनि राप्रपाले पार्टीगत निर्णय गर्नुपर्छ । के मिश्रको चन्दा संकलन अभियानमा राप्रपाको सहमति छ ? प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्