राजनीति

बालकृष्ण खाण: कार्यकर्तालाई अर्ती आफू भने अवसरवाद र परिवारवादमा मस्ती (भिडियो रिपोर्टसहित)

२०७९ असोज १२ गते ८:०४
बालकृष्ण खाण: कार्यकर्तालाई अर्ती आफू भने अवसरवाद र परिवारवादमा मस्ती (भिडियो रिपोर्टसहित)

१२ असोज २०७९ रुपन्देही । गृहमन्त्री बालकृष्ण खाण प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासिला पात्र मानिनुहुन्छ । नेपाली कांग्रेस सत्तामा पुग्दा केन्द्रीय सदस्य खाण पनि सत्ता र शक्तिभन्दा बाहिर रहनुभएन । तर, गौतमबुद्धले जस्तै त्यागको भावना राख्नुपर्छ भन्दै कार्यकर्तालाई अर्ति दिने खाण आफु भने ‘अवसरवाद र परिवारवाद’मा चुर्लुम डुब्ने पात्रका रूपमा चिनिन थाल्नुभएको छ ।

असोज ८ गते रुपन्देहीको भैरहवामा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले राजनीतिमा त्यागको भावना हुनु पर्छ भन्दै भाषणा गर्नुभयो । सबै पार्टीमा टिकटका लागि आकांक्षी धेरै रहेको र सबै उम्मेदवार बन्न नसक्ने भएकाले एक कदम पछाडि हटेर त्याग गर्न उहाँको आग्रह थियो । एक पटक उहाँको भाषण सुनौं ।

यसरी अर्ति दिने खाणकी श्रीमति मञ्जु खाणको नाम भने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक बन्दसूचीको अग्रस्थानमा परेको छ । महिलातर्फ पहिलो नम्बरमा प्रधानमन्त्री पत्नी आरजु राणा र दोस्रो नम्बरमा गृहमन्त्री पत्नी मञ्जुको नाम छ । अघिल्लो पटक आफू समानुपातिकमा बस्नुभएका गृहमन्त्री खाणले यसपटक पत्नी मञ्जुलाई समानुपातिकको शीर्ष स्थानमा राख्न राम्रै मिहिनेत गरेको प्रष्ट छ ।

गृहमन्त्रीको पत्नी मात्रै नभएर मञ्जुको राजनीतिक व्यक्तित्व मान्ने हो भनेपनि उहाँ केन्द्रीय समितिको १ सय २१ औं वरियतामा हुनुहुन्छ । मञ्जुले आफूभन्दा सिनियर धेरैलाई उछिनेर समानुपातिक सूचीको अग्रस्थान सुरक्षित गर्नुभएको छ । भाइ रामकृष्ण खाणलाई नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा रुपन्देही जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गराउन पनि बालकृष्णको महत्वपूर्ण भूमिका थियो ।

त्यति मात्र होईन गत बैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा तिलोत्तमा नगरपालिकाबाट भाइ रामकृष्णले नै टिकट पाउनु भयो र बिजयी पनि हुनु भयो । २०७४ सालको निर्वाचनमा समानुपातिक उम्मेदवार दिनु भएका खाणलाई रुपन्देहीको क्षेत्र नम्बर २ र ३ बाट प्रत्यक्षका लागि सिफारिस गरिएको छ । उहाँ क्षेत्र नम्बर ३ बाट उठ्ने र गठबन्धन भए जित्ने निश्चित छ । अब पति पत्नी नै सांसद बन्ने ‘निश्चय’ भएपछि गृहमन्त्री खाण अरुलाई त्याग, तपस्या र बलिदानको पाठ पठाउन तम्सिनु भएको छ ।

कांग्रेस राजनीतिमा छोटो समयमै धेरै राजनीतिक लाभ लिने नेतामध्येका एक खाणको पछिल्लो अभिव्यक्तिले कांग्रेसभित्र ‘अवसरवाद र परिवारवाद’ मौलाएको मात्रै होइन, इमान्दार कार्यकर्तामाथि खिसीटिउरी बढेको अनूभूति समेत कांग्रेसजनले गरेका छन् । आफ्ना परिवारका सदस्यको अवसरका लागि जेसुकै गर्न तयार गृहमन्त्री खाणँले अरुलाई त्यागको भाषा पढाउनु हाँस्यास्पद छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्