राजनीति

मन्त्री बन्ने लोभमा उमाशंकर अरगरिया एमाले छिरेको आरोप (भिडियो रिपोर्टसहित)

२०७९ असोज ९ गते १८:०९
मन्त्री बन्ने लोभमा उमाशंकर अरगरिया एमाले छिरेको आरोप (भिडियो रिपोर्टसहित)

९ असोज २०७९ धनुषा । टिकटका आकांक्षी सांसद, नेताहरूलाई व्यवस्थापन गर्न नसक्दा कांग्रेस र जनता समाजवादी पार्टी तथा लोसपाका नेताहरू टिकट तथा मन्त्री पाउने प्रलोभनमा नेकपा एमालेको शरणमा पुग्ने गरेका छन् ।

शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेतक उमाशंकर अरगरिया एमालेमा प्रवेश गर्नुले गठबन्धनको टिकट बाँडफाँटले निम्तिएको समस्यालाई सतहमा ल्याएको छ । साथै नेताहरूलाई सिद्धान्त भन्दा पनि टिकट प्यारो हुन्छ भन्ने उदाहरण प्रस्तुत भएको छ ।

उमाशंकर अरगरिया मधेशको राजनीतिमा चर्चित नाम हो । मधेश आन्दोलन हुनु भन्दा अगाडि जनकपुरधामका डन भनिने संजय साहका सहयोगी अरगरियाको राजनीतिक यात्रा २०६८ देखि प्रारम्भ भयो ।

संविधानसभा सदस्यको चुनावमा फोरमबाट उदाएका अरगरियाले टिकट नपाउने कुरै थिएन । तर, यो पटक सांसदको टिकटभन्दा मन्त्री पद नै सुरक्षित गर्ने गरी उहाँ एमाले प्रवेश गर्नुभयो ।

सांसद मात्र बनेर नपुगेका अरगरियाको मन्त्री बन्ने हुटहुटी पहिलेदेखिकै हो । जसपाको प्रमुख सचेतक रहेका अरगरिया मन्त्री बन्नकै लागि लोकतान्त्रिक समाजवादी पार्टीमा लाग्नुभयो । १८ दिन मन्त्री बनेका अरगरियालाई बेलाबेला एमालेको ट्याग लाग्ने गरेको थियो ।

२०७७ वैशाख ९ गते जसपा सांसद सुरेन्द्र यादवलाई अपहरण गर्दा उहाँको संलग्नता रहेको चर्चा अहिले पनि चल्ने गर्दछ । शनिबारको एमाले पार्टी प्रवेश कार्यक्रममा अरगरियासँगै सर्वेन्द्र खनाल, महेश बस्नेत र सञ्जिव झा एकै मञ्चमा देखिएका थिए । तर, कोही पनि उक्त घटनालाई अपहरण भन्न चाहँदैनन् ।

अन्य दल स्वार्थ केन्द्रित र एमाले देश बनाउन केन्द्रित भएकाले पार्टी प्रवेश गरिएको अरगरियाको भनाई छ ।

यता, जसपा र लोसपाका नेता भने अरगरियाको एमाले प्रवेशलाई अति महत्वाकांक्षीको संज्ञा दिन्छन् ।

खासमा अरगरिया पार्टीले टिकट दिए पार्टीमै रहने तर टिकट नपाउँदा अन्य पार्टीको सहारा खोज्ने प्रतिनिधिमूलक पात्र बनेका छन् । दल बदल्ने परिपाटी पहिलेदेखि नै रहँदै आए पनि २०६३ सालमा भएको पहिलो मधेस आन्दोलनपछि दल परिवर्तन गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ ।

चुनाव नजिकिँदै जाँदा टिकट पाउने प्रलोभनमा दलबदलको होडबाजीलाई ‘सिद्धान्तहीन र विचारविहीन राजनीति’को सङ्ज्ञा दिन थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्