राजनीति

कांग्रेस कलह : भाग नपाए विद्रोह गर्ने शेखर समूह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ८ गते २१:१२
कांग्रेस कलह : भाग नपाए विद्रोह गर्ने शेखर समूह (भिडियो रिपोर्टसहित)

८ असोज २०७९ काठमाडौं । मंसिर ४ को निर्वाचन नजिकिएसँगै कांग्रेसभित्रको मतभेद छताछुल्ल हुन थालेको छ । समानुपातिकतर्फको बन्दसूचीमा असन्तुष्ट शेखर कोइराला समूहले आफ्नो असन्तुष्टि खबरदारी सभा गरेरै पोख्न थालेपछि कांग्रेसभित्रको गुटगत लडाइ सतहमा देखिएको हो ।

चार दललाई समेटेर निर्वाचनमा होमिने तयारीमा जुटेको कांग्रेसभित्रै किचलो सुरु भएको छ । कांग्रेसको संस्थापनइतर समूहले संस्थापनसँग ४० प्रतिशत भाग माग्दै विद्रोहको चेतावनी दिएको छ ।

काठमाडौंमा शनिबार खबरदारी सभामा जुटेको इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाले चुनावी टिकट वितरणमा मनपरी गरेको आरोप लगाएको छ । १४औँ महाधिवेशनबाट सभापतिमा पराजित नेता शेखर कोइरालाले असन्तुष्ट समूहको नेतृत्व गर्दै आउनुभएको छ ।

यो समूहलाई पेलेरै जाने रणनीतिमा सभापति देउवा हुनुहुन्छ । १४औँ महाधिवेशनअघिसम्म संस्थापनइतर समूहमा रहेका रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शंशाक कोइरालाहरु अहिले शेखर समूहमा हुनुहुन्न । उहाँहरु आफैं शेखरलाई नेता मान्न तयार हुनुहुन्न । यो बुझेका सभापति देउवाले इतर समूहका रुपमा भाग लगाउँदा पौडेल, सिंह, कोइराला र महामन्त्रीहरुलाई समेट्न थाल्नुभएको छ । त्यसैले कांग्रेसभित्र शेखर समूह बलियो छैन ।

शनिबारकै खबरदारी सभामा पनि केन्द्रीय स्तरका नेताहरु सहभागी भएनन् । सभामा शेखर आफैं अनुपस्थित हुनुहुन्थ्यो, टिकट वितरणको मुखमा अर्जुननरसिंह केसी, बद्री पाण्डे लगायतका नेताहरु पनि सहभागी हुनुभएन ।

महामन्त्री गगन थापा त वालुवाटार फकाउने ‘मूड’मा रहेकाले भेलामा उपस्थित हुने कुरै भएन । शेखर समूहमा रहेको भनिएका दोस्रो तथा तेस्रो तहका नेताहरुले ४० प्रतिशत भाग नपाए संसदीय बोर्ड बैठक घर्नेदेखि अनसन बस्नेसम्मको चेतावनी दिएका छन् ।

जस्तो सुकै चेतावनी दिएपनि देउवा गल्ने सम्भावना छैन । केन्द्रीय समिति, प्रदेश र जिल्ला समितिमासम्म देउवासँग ७० प्रतिशत साथ रहेको छ । पार्टीभित्र दुईतिहाइ मत आफ्नो साथमा रहँदा–रहँदै देउवाले शेखर पक्षलाई महत्व दिएर ४० प्रतिशत भाग दिने सम्भावना नरहेको उहाँ निकट नेताहरु नै बताउँछन् ।

यो समूहले असोज १६ गते अगाडि नै कार्यदल बनाएर समानुपातिकको सूची सच्याउनुपर्ने शर्त राखेको छ । संस्थापनलाई दबाब दिन बोलाइएका यस्ता भेलाहरुमा ठूला नेताहरु नै नजाँदा त्यसको प्रभाव नपर्ने धेरैले बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्