स्वतन्त्रहरु दलको छत्रछायाँ खोज्दै, स्वतन्त्र अभियान बार्गेनिङको अस्त्र (भिडियो रिपोर्टसहित)
७ असोज २०७९ काठमाडौं । स्थानीय तहको निर्वाचनमा काठमाडौं, धरान र धनगढीसहित केही पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएसँगै संघ र प्रदेश निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारीको लहर नै चलेको छ । तर पछिल्लो समय स्वतन्त्र उम्मेदवारीका नाममा बार्गेनिङ र निर्वाचन सुरक्षित गर्न दल प्रवेश गर्ने क्रम बढेको छ ।
स्वतन्त्र उम्मेदवारीको घोषणा गर्ने तर, कुनै दलसँग जोडिने प्रवृत्ति मौलाएको छ । यसले स्वतन्त्र उम्मेदवारी वार्गेनिङको माध्याम त बन्दै छैन ? यतिवेला राजनीतिकवृत्तमा प्रश्न उठ्न थालेको छ ।
हेरौं केही उदाहरण –
–वैशाख २ गते काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोल एमालेबाट उपमेयरमा निर्वाचित
–काठमाडौं ६ बाट असार ५ गते स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ असोज ६ गते एमाले प्रवेश
–काठमाडौं १ बाट जेठ २० गते स्वतन्त्र उम्मेदवारी घोषणा गरेका पुकार बम भदौ २८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन लड्न सहमत
–ललितपुर ३ बाट साउन ५ गते स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अरनिको पाँडे भदौ २४ मा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश
–काठमाडौं ६ बाट साउन २० गते स्वतन्त्र उम्मेदवारी घोषणा गरेका शिशिर खनाल भदौ २८ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचन लड्न सहमत
यी बाहेक पनि स्वतन्त्र अभियानमा जुटेकाहरु अहिले राजनीतिक दलकै नाममा उम्मेदवारी दिने तयारीमा छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन स्वतन्त्र चिन्हका रुपमा लौरोले चर्चा पायो ।
त्यसैलाई आधार मानेर काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बनेका सुमन सायमीले प्रतिनिधिसभाको निर्वाचनका लागि भदौ २ गते काठमाडौं ८ मा लौरो अभियान नाम दिएर स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभयो । तर, हाम्रो नेपाली पार्टीले लौरो चिन्ह निर्वाचन आयोगबाट पाएपछि सायमी नेतृत्वको समूहले यो पार्टीसँग एकता गरेको छ । अर्थात स्वतन्त्र अभियान नाम दिएकाहरु अहिले दलीय शरणमै पुगेका छन् । स्वतन्त्रको नामलाई वार्गेनिङको अस्त्र बनाउन किन खोजिदै छ त रु
राष्ट्रिय राजनीति र पार्टीमै योगदान पुर्याएकालाई पाखा लगाउँदै ठूला दलले पनि स्वतन्त्रका नाममा हौवा फैल्याउनेलाई च्याप्न थालेपछि दलीय मानसिकता कमजोर बनेको विश्लेष गर्न थालिएको छ । अर्कोतिर स्वतन्त्रको नाम दिएर दल प्रवेशको सहज बाटो बनाउन थालिएको छ । यसले राजनीतिलाइ थप धुमिल त बनाउँदैन ?
राजनीतिक दल सम्बन्धी ऐन २०७३ ले कुनै पनि दलको आफ्नो चुनाव चिन्ह हुने प्रष्ट पारेको छ । र त्यसैमा कुनै दलसँग आवद्ध नभएकाले स्वतन्त्ररुपमा उम्मेदवारी दिन पाउने व्यवस्था पनि छ । तर, स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आयोगले तोकेको चुनाव चिन्ह हुन्छ । यहाँ जुन चिन्ह चर्चामा छ, त्यसैलाई धेरै स्वतन्त्र भनिएका उम्मेदवारले उपयोग गर्ने मनशाय देखिन्छ । दलप्रतिको अविश्वास बढेको पनि भन्ने तर स्वतन्त्रको नाममा दलसँगै वार्गेनिङ बढाउने प्रवृत्तिले राम्रो सन्देश दिएको छैन ।
अझ अघोषित गठबन्धन बनाएर चुनाव लड्ने योजनामा रहेका स्वतन्त्र उम्मेदवारहरू कोही लौरो’ त कोही घण्टी चिन्हको छायाँमा पुग्दा लोकतन्त्रको भद्दा मजाक बाहेक केही देखिन्न । कतिपयले स्वतन्त्र अभियानमा जुटेकाहरु दलीय छातामा आउनु सकारात्मक मानेका छन् ।
त्यसो त नेपालको इतिहासमा ६४ वर्ष अगाडि पहिलो संसदीय निर्वाचन २०१५ मै २६८ स्वतन्त्र उम्मेदवार थिए । जसमध्ये ४ जना विजयी भएको इतिहास छ । यस्तै २०४८ मा ३, ०५१ को मध्यावधि निर्वाचनमा ७ जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए ।
यस्तै २०६४ को पहिलो संविधान सभा र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा दुई दुई जना स्वतन्त्र उम्मेदवार विजयी भएका थिए भने २०७४ को निर्वाचनमा एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका थिए । स्वतन्त्रको महत्वलाई नै विगार्नेगरी आएको लहरबाट सचेत हुन जरुरी छ ।
प्रतिक्रिया