खेलकूद

प्रदर्शनमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी (भिडियो रिपोर्टसहित)

२०७९ असोज ७ गते १८:१६
प्रदर्शनमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी (भिडियो रिपोर्टसहित)

७ असोज २०७९ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करणदेखि च्याम्पियन टोलीलाई दिने रनिङ ट्रफी अहिले देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेको ट्रफी सुदूरपश्चिम प्रदेश हुँदै प्रतियोगितामा सहभागी सबै प्रदेश र विभागमा प्रदर्शन गरि आयोजना स्थल पोखरा लगिने छ ।

राष्ट्रिय खेलकुद परिषद् राखेपले राष्ट्रिय खेलकूद प्रतियोगिताको प्रत्येक संस्करण फरक र विशेष बनाउन प्रयास गरिरहेको छ । तर सधैँ अव्यवस्थित र काम चलाउ ढंगमा खेल संचालन गरेको आरोप खेपेको राखेपले यो पटक केहि परिमार्जन गर्ने कोशिस गरेको छ । जसको एक पक्ष हो च्याम्पियन टोलीलाई दिने रनिङ ट्रफी । राखेपले यो पटकदेखि च्याम्पियन टोलीलाई रनिङ ट्रफी दिने निर्णय गरेको हो ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले डिजाईन गरेको ट्रफीलाई श्याम तुलाधरसहित ५ शिल्पकारले एक महिनामा तयार पारेका हुन् । ५ केजी चाँदीले बनेको कलश आकारको ट्रफीमा २ तोला सुनको प्रयोग गरि राष्ट्रिय खेलकुद प्रतियोगिता लेखिएको छ ।

२३ ईन्च उचाई र १८ इन्च चौडा ट्रफी निर्माणका लागि १० लाख रुपैयाँ लागेको थियो। यसको पिँधमा प्रत्येक संस्करणको च्याम्पियन टोलीको नाम र लोगो अंकित हुनेछ भने लगातार ३ संस्करण जित्ने टोलीले स्थायी रुपमा ट्रफी आफैंसँग राख्न पाउने छ ।

ट्रफीमा सबैको अपनत्व गराउन राखेपले प्रतियोगितामा सहभागी सबै प्रदेश र विभागमा ट्रफी प्रदर्शन गर्ने निर्णय गर्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । त्यही अनुसार कार्यदलले भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सार्वजनिक भएको ट्रफी सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीबाट प्रदर्शन गर्‍यो ।

धनगढीबाट सुरु भएको टुर लुम्बिनी, बागमती प्रदेश हुँदै शुक्रबार दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब भद्रकाली र नेपाल पुलिस क्लबको मुख्यालय नक्सालमा प्रदर्शनी गरेको थियो । विभिन्न ठाउँमा ट्रफी प्रदर्शनी गरिरहँदा त्यहाँका खेलाडीलाई उत्साहित बनाएको र यसले प्रतियोगितालाई लिएर देशव्यापी माहोल बन्ने कार्यदलको विश्वास छ ।

अब ट्रफी अर्को विभागीय टोली एपिएफ, प्रदेश १ र मधेश प्रदेश हुँदै प्रतियोगिता आयोजना स्थल लगिने छ । १४ गतेसम्म सबै प्रदेशमा पुर्याइ असोज २३ गते प्रतियोगिता उद्घाटनस्थल गण्डकी प्रदेश लगिने छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते पोखरा रंगशालामामा उद्घाटन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्