राजनीति

समानुपातिक प्रणालीको हुर्मत : महरालाई ‘सेफ जोनमा राख्न समानुपातिक सूचीमा (भिडियो रिपोर्टसहित)

२०७९ असोज ७ गते १८:०६
समानुपातिक प्रणालीको हुर्मत : महरालाई ‘सेफ जोनमा राख्न समानुपातिक सूचीमा (भिडियो रिपोर्टसहित)

७ असोज २०७९ दाङ । राजनीतिक दलले समानुपातिकमा पुराना नेतालाई व्यवस्थापन गर्ने नीति लिएका छन् । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा यसपटकको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा पर्नुभएको छ ।

२०४८ सालदेखिनै लाभको पद पाइरहेका महरा यसपटक पनि सांसद बन्न सहज बाटोतर्फ मोडिनुभएको छ । प्रत्यक्षतर्फ दाङका दुई निर्वाचन क्षेत्र र रोल्पाबाट सिफारिसमा पर्नुभएको थियो । तर, विवादमा मुछिएका महराले समानुपातिकको सहज बाटो रोज्नुभएको छ ।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेका उपाध्यक्ष महरा समानुपातिकतर्फबाट खसआर्यको बन्दसूचीमा सिफारिस हुँदा दाङमा तरंग उत्पन्न भएको छ । दाङका दुई र रोल्पाबाट प्रत्यक्षतर्फ सिफारिसमा पर्नुभएका महराले समानुपातिकको सहज यात्रा रोज्नुका पछाडि उहाँको छविमा लागेको दाग प्रमुख कारण मानिएको छ ।

महाराको सत्ता यात्रा
२०४८ सालमा रोल्पा( २ बाट निर्वाचित (तत्कालीन संयुक्त जनमोर्चाबाट)
२०६४ सालको संविधानसभा निर्वाचनमा दाङ–३ बाट निर्वाचित
२०७० सालको संविधानसभा निर्वाचनमा रोल्पा– १ बाट निर्वाचित
२०७४ सालको निर्वाचनमा दाङ– २ बाट निर्वाचित
२०७४ को निर्वाचनपछि सभामुख
२०६३ मा अन्तरिम व्यवस्थापिका सदस्य
२०६४ पछि पाँच पटक मन्त्री र उपप्रधानमन्त्री

विवादमा महरा
२०७४ को निर्वाचनपछि सभामुख बनेका महरालाई संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौन दुर्व्यवहारको आरोप लगाएपछि विवादमा तानिनुभयो । शाहीको मुद्दामा उहाँ २०७६ कात्तिक १८ गते कारागार चलान हुनुभयो र सभामुख पदबाट हट्नुपर्यो । पछि अदालतबाट सफाइ पाएर उहाँ पुनः राजनीतिमा फर्किनुभयो र पार्टीको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पुग्नुभयो ।

किन समानुपातिकको बाटोमा महरा ?
यसपटकको निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेदवार बन्ने तयारीमा रहेका महरा अन्तिममा समानुपातिक रोज्न पुग्नुभयो । निर्वाचनमा रोशनी प्रकरण उचालिने डरले पनि उहाँले सहज बाटो रोजेको दाङका स्थानीयको बुझाइछ । उहाँले नैतिकता देखाउनुपर्ने दाङकै माओवादी कार्यकर्ताले भन्न थालेपछि उहाँ एमाले महासचिव शंकर पोखरेलसँग प्रतिष्पर्धा गर्न पछि हट्नु भएको स्थानीयको मत छ ।

तर, माओवादी केन्द्रका जिल्ला नेताहरु प्रत्यक्षतर्फ नयाँ नेतृत्वलाई जिम्मेवारी दिन महराले क्षेत्र छाडेको दाबी गर्छन । नयाँ पुस्तालाई अबको नेतृत्व दिनुपर्ने तर्क सहित उहाँले समानुपातिक रोजेको नेताको भनाइ छ ।

स्थानीय तह निर्वाचन अनुसार दाङ– २ मा दलीय अवस्था
एमाले – ३३ हजार ५९३
कांग्रेस – २३ हजार ३०१
माओवादी केन्द्र – १० हजार ४७८
एकीकृत समाजवादी – २ हजार ९४२

गठबन्धन दलभन्दा एमाले ३ हजार १ सय २८ मतले मात्रपछि छ । यहाँ स्थानीय तह निर्वाचन २०७९ मा एकीकृत समाजवादीले गठबन्धनलाई साथ दिएको थिएन । स्थानीय तहको निर्वाचनकै परिणामले पनि महराका लागि यो क्षेत्र कठिन नै रहन्थ्यो । त्यसबाहेक महराको छविलाई लिएर पनि सुरक्षित बाटो रोजेको दाङका राजनीतिक विश्लेषकको तर्क छ ।

दाङलाई केन्द्र बनाएर निर्वाचनमा होमिने र जितेर केन्द्र पुग्ने नेताहरुले स्थानीय समस्यामा ध्यान दिन नसकेको आरोप पनि लाग्दै आएको छ । सधै सत्ताको वरिपरि रहने महराप्रति स्थानीयको भरोसा कम हुँदै गएको विश्लेषण पनि गर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्