Main News

नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखाैँ युवाकाे भविष्य अन्याेलमा (भिडियो रिपोर्टसहित)

२०७९ असोज ५ गते २०:२८
नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखाैँ युवाकाे भविष्य अन्याेलमा (भिडियो रिपोर्टसहित)

५ असोज २०७९ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौँ युवाको भविष्य अन्योलमा परेको छ । राज्यबाट प्राप्त गर्नुपर्ने सुविधाबाट वञ्चित हुँदा अहिले लाखौँ युवा अनागरिक भएको महशुस गरिररहेका छन् ।

उहाँ मिनु गुप्ता । २१ वर्ष लाग्नुभयो । तर, बुवाको जन्म र आमाको वंशजको आधारमा नागरिकता भए पनि मिनुले भने नागरिकता बनाउन सक्नुभएको छैन ।
मिनुको जस्तै पीडा नेपालगञ्ज रामवागका मनोज केवट र कालादेव बसखोरको पनि छ ।

उच्च शिक्षाका लागि कजेलमा भर्ना हुनदेखि मोबाइलको सिम कार्ड निकाल्न, बैँक खाता खोल्न र जागिर खानका लागि उहाँहरू जस्ता लाखौँ युवालाई नागरिकता आवश्यक छ । नेपाली भएर पनि अनागरिक जस्तो हुनुको पीडाले उहाँहरुलाई पोलेको छ ।

२०६२–०६३ को जनआन्दोलनपछि तत्कालिन सरकारले २०६३ सालमा तराईका जिल्लामा बसोबास गर्ने नागरिकलाई नेपालमा जन्मिएको प्रमाणका आधारमा पनि नागरिकता दिने कानुनी व्यवस्था गरेर नागरिकता टोली खटाएको थियो । टोलीले बाँकेमा मात्रै जन्मका आधारमा करिव ८ हजार जनालाई नागरिकता वितरण गरेको थियो ।

वंशजका आधारमा नागरिकता पाएका ८ हजार जनाका मिनु र मनोज जस्तै हजारौंको संख्यामा रहेका सन्तानले नागरिकता पाउन सकेका छैनन् । राजनीतिक दाउपेचका कारण नयाँ संविधानको भावना अनुसार नागरिकता ऐनमा संशोधन नहुँदा वंशजका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले नागरिकता पाउने विषय जटिल बन्दै गएको छ ।

नेपालको संविधान २०७२ को धारा १० र १२, नागरिकता ऐन २०६३ को ३ (१) ले कुनै पनि नेपालीलाई नागरिकताबाट वञ्चित गर्न नमिल्ने व्यवस्था गरेको छ । संविधानको भावना अनुसार नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक सरकार, संसद र राष्ट्रपतिबीचको टकराबले फेरि अपलत्र पर्दा लाखौँ युवाको भविष्य पुनः अन्योलतर्फ धकेलिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *