Main News

जलाशययुक्त धाप बाँध परियोजनाको काम ९८ प्रतिशत पूरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ असोज ३ गते १६:०८
जलाशययुक्त धाप बाँध परियोजनाको काम ९८ प्रतिशत पूरा (भिडियो रिपोर्टसहित)

३ असोज २०७९ काठमाडौं । बागमती नदीको प्राकृतिक बहाव बढाउन निर्माणाधिन जलाशययुक्त धाप बाँध परियोजनाको ९८ प्रतिशत काम सकिएको छ ।

योसँगै बागमती धाप बाँध परियोजनामा जम्मा गरिएको पानी, असोजको अन्तिमसम्म बागमती नदीमा पठाउने तयारी गरिएको छ ।

यो हो, काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा बनेको कृत्रिम ताल । यसलाई बागमती धाप बाँध परियोजनाका रुपमा अघि बढाइएको छ ।

वर्षामा परेको पानी र विभिन्न जलाधार क्षेत्रबाट आएको पानी संकलन गरेर बनाइएको यो ताल अब बागमतीमा पठाउने तयारी गरिएको हो । ताल निर्माणको काम ९८ प्रतिशत सकिएको छ । असोज महिनाकै अन्तिमसम्ममा बाँकी काम पनि सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

सन् २०१५ देखि सुरु ड्यामको काम २ वर्षमा सक्ने लक्ष्य थियो । तर, बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन इआइएबारे वन मन्त्रालयले निर्णय नदिंदा निर्माण ढिलाइ भएको थियो । सुरुमा ५१ करोड ७५ लाख २ हजार ३ सय ४८ रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता थियो ।

दुईवर्षमा काम नसकिएपछि म्याद थप गरियो । र रकम पनि बढ्यो, ४४ करोड ३६ लाख रुपैयाँ बढाइयो । यसो हुँदा ९० करोड भन्दा बढी लागत लाग्ने अवस्था रह्यो । अहिले काम अन्तिम चरणमा रहेको छ । यो तालमा ८ लाख ५० हजार घनमिटर जति पानी जम्मा गर्न सकिनेछ ।

असोजदेखि भने धाप बाँधबाट प्रतिसकेण्ड ४० लिटरका दरले बागमतीमा आठ महिनासम्म पानी छोडिनेछ । ढलको व्यवस्थापन प्रभावकारी हुनसके र सँगसँगै फोहोर व्यवस्थापन भएमा बागमतीको सिरदेखि चोभारसम्म नै सफा पानी बग्नेछ । बागमतीमा पानीको बहाव र पानीको गुणस्तर बढाउनको लागिनिर्माण गरिएको यो धापको पानी बागमतीमा नुहाउन समेत योग्य हुने गरी पठाइनेछ ।

हाल यसको मुख्य ड्याम र सहायक ड्यामहरु पनि निर्माण भइ पानी जम्मा गर्न शुरु गरिएको छ । ड्याममा जम्मा भएको पानी नागमतिको ड्याममा जम्मा भएपछि क्रमशः पानी छोडेर बागमतीमा मिसाइनेछ ।

बागमती नदीको सफाइ गर्ने अभियान पनि यसैसँग जोडिएको छ । यो बाँधबाट चार मेगावाट विद्युत उत्पादन गर्न सकिनेछ भने त्यसले जलाधार क्षेत्र र उपत्यकामा जमिन मुनिको पानी पुनःभरण गर्न सहयोग गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *