यसरी भयो मेघौली विमानस्थल गौचरणमा परिणत (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १९ गते १८:०५
यसरी भयो मेघौली विमानस्थल गौचरणमा परिणत (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७९ चितवन । तत्कालीन बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलले निकै चर्चा पायो । राजपरिवारले समेत यही विमानस्थललाई रोज्दा धेरैले विमानस्थलको कायापलट हुने सोचेका थिए । तर, ६ दशक पुरानो विमानस्थल अहिले गौचरणमा परिणत भएको छ ।

कुनै समय चितवनको प्रमुख पर्यटकीय गन्तब्य थियो, मेघौली । पर्यटककै चहलपहलले मेघौली विमानस्थल भरतपुर विमानस्थलभन्दा बढी व्यस्त हुन्थ्यो । तर, आज मेघौलीमा त्यो रौनक छैन । यो ठाउँ अहिले उजाडिएको छ ।

पुरानो पर्यटकीय र आर्थिक माहोल अहिले शून्य छ । भरतपुरबाट करिव ३० किलोमिटर पश्चिममा पर्ने मेघौली पुग्ने सडकको अवस्था पनि राम्रो छैन । पर्यटकहरु सडककै दुरावस्थाले पनि त्यहाँ जान हिच्किचाउने गरेका छन् ।

राप्ती नदीको तटीय क्षेत्रमा ठूला होटल निर्माण भएका छन् । मेघौलीको आशा अहिले पनि तीनै होटलमा अल्झिएको छ । त्यसले पनि मेघौली विमानस्थलको आवश्यकता बढ्दै गएको छ ।

२०६६ सालमा टाइगर टप्स रिसोर्ट निकुञ्जभित्रबाट बाहिरिएपछि मेघौलीको दुःख सुरु भएको हो । त्यसयता न विमानस्थल चलेको छ न अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगिता नै आयोजना हुन्छ ।

भरतपुर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र पनि हो । त्यसैले पनि विमानस्थल सञ्चालन छिट्टै हुने उहाँको दावी छ । स्तरोन्नतिका लागि सर्वेक्षणलाई अघि बढाउने उहाँले प्रतिवद्धता जनाउँदै आउनुभएको छ ।

एक हजार दुई सय मिटर धावनमार्ग भएको मेघौली विमानस्थलमा २५ सिट क्षमताका ट्वीनअटर अवतरण गर्न सक्छन । कच्ची धावनमार्ग भएकाले मेघौलीमा ठूला जहाज भने अवतरण गर्न सक्दैनन् । धावनमार्ग कालोपत्रे गरेर विस्तार गर्ने हो भने यो विमानस्थल भरतपुर विमानस्थलको विकल्प बन्न सक्छ ।

देशकै तेस्रो पर्यटकीय गन्तव्यको रूपमा चितवन विकास भइरहँदा मेघौलीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढाउन नसक्नु आफैमा दुखद छ । अब यो कहिले सञ्चालनमा आउँछ त्यो हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *