राप्ती नदी छेउकै किसान यस्तो खडेरीको मारमा (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १८ गते १७:५८
राप्ती नदी छेउकै किसान यस्तो खडेरीको मारमा (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७९ बाँके । बाँकेको नरैनापुर गाउँपालिका भएर राप्ती नदी बग्छ । बर्सेनि नदीमा बाढीका कारण नरैनापुरका विभिन्न क्षेत्र डुबानमा पर्छन् । तर, गाउँपालिकामा भने खडेरी छ । सिंचाइ सुविधा नहुँदा छेउमै बग्ने राप्ती नदी हेरेर किसान खडेरीसँग पौठेजोरी गर्न बाध्य छन् ।

पर्याप्त वर्षा नहुँदा बाँकेको नरैनापुरमा यो वर्ष १५ प्रतिशत मात्रै रोपाई भयो । तर, यही धान पनि खडेरीका कारण सुक्न थालेका छन् ।

खेतमा धाँजा पर्न थालेको छ । आकाशबाट पानी परेपछि खेत रोप्ने आसमा राखिएको बीऊ ब्याडमै छिप्पिएपछि काटेर गाईभैंसीलाई खुवाउन किसान विवश भएका छन् ।

नरैनापुरमा धान खेती हुने क्षेत्र मध्ये २ सय ६० हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ । तर, सिंचाइ सुविधाका लागि गाडिएका डिप बोरिङ लामो समयदेखि बिग्रिएका कारण सिंचित भनिएको क्षेत्रका किसानले पनि पानी पाएका छैनन् ।

पानीको जोहो हुन नसकेपछि उनीहरू अनिकालमा पर्ने चिन्तामा छन् । गाउँपालिकाले भने नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरेको छ । विशेष राहत कार्यक्रम घोषणा गरेर किसानलाई सहयोग गर्न स्थानीय सरकार र प्रशासनले संघीय सरकारसँग माग गरिरहेको छ ।

छेउमै राप्ती नदी बग्दासमेत आकाशको पानीको भर पर्नुपर्ने नियति नरैनापुरले भोगिरहनुले राज्य संयन्त्रलाई नै गिज्याइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *