धनकुटा अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू प्रयोगविहीन (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १५ गते २१:२८
धनकुटा अस्पतालमा भेन्टिलेटरसहितको आईसीयू प्रयोगविहीन (भिडियो रिपोर्टसहित)

१५ भदौ २०७९ धनकुटा । जनशक्ति अभावले जिल्ला अस्पताल धनकुटामा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष आईसीयू प्रयोगविहीन बनेको छ । कोरोना महामारीमा प्रदेश सरकारको २ करोड लगानीमा आइसीयू कक्ष स्थापना भएपनि अहिले उपकरण अलपत्र छन् ।

दोस्रो लहरको कोरोना महामारीको बेला २०७७ फागुनमा जिल्ला अस्पताल धनकुटाको माथिल्लो तलामा आइसीयू कक्ष निर्माण गरियो ।

कक्षभित्रका १० शय्यामध्ये चार वटामा भेन्टिलेटर समेत जडान गरियो भने ६ सामान्य शय्या राखियो । तर, आइसीयू कक्षभित्रका उपकरण अलपत्र छन् । प्रयोगविहीन मेसिन कपडाले बेरेर राखिएको छ । जनशक्ति अभावकै कारण आइसीयू सञ्चालन नहुँदा बिरामीलाई अन्यत्र धाउनुपर्ने बाध्यता छ ।

भेन्टिलेटरसहितको आइसीयू कक्ष सञ्चालनमा आउँदा गम्भीर प्रकृतिका बिरामीले सहजै उपचार पाउने थिए । करोडौँमा खरिद गरिएको उपकरण खिया लाग्ने अवस्थामा पुग्दा समेत अस्पताल प्रशासनको ध्यान जान सकेको छैन ।

भेन्टिलेटर र आईसियू सञ्चालनको लागि कम्तीमा एक एक जना फिजीसियन र एनएसथिसियोजोजिस्ट आवश्यक पर्छ । अस्पताल प्रशासन भने प्रदेश सरकारको सम्बन्धित मन्त्रालयसँग जनशक्ति व्यवस्थापनबारे छलफल भइरहेको बताउँदै आएको छ ।

जनशक्ति नहेरी करोडौँ लगानी गरेर उपकरण खरिद गर्ने प्रवृत्तिका कारण समस्या निम्तिएपनि एक वर्षदेखि कुनै समाधानका उपाय नखोज्नुले प्रदेश सरकारको लगानी कतै बालुवामा पानी हुने त होइन भन्ने प्रश्न उब्जिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *