महाभियोग निष्क्रिय भइसकेको निलम्बित प्रधानन्यायाधीश जबराको दाबी (भिडियो रिपोर्टसहित)
१५ भदौ २०७९ काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गर्नुभएको छ ।
महाभियोग प्रस्ताव उपर संसदीय समितिमा आज जवाफ दिँदै राणाले संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार अभियोग निष्क्रिय भइसकेको दावी गर्नुभएको हो ।
महाभियोग जस्तो गम्भीर विषयमा संविधान र प्रतिनिधिसभा नियमावली किन पालना गरिएन् भन्ने प्रश्न उठाउनु भएका राणाले आफू संसदको सम्मानका लागि मात्र बयान दिन आएको बताउनु भयो ।
संविधान र नियमावली कसरी पालना भएन भन्ने चाहिँ उहाँले प्रष्ट पार्नुभएन ।
आफू पछाडिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउने उद्देश्यमा महाअभियोग ल्याइएको दाबी गर्दै राणाले बयानमा प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्यायपालिका कहिल्यै बलियो नहुने धारणा पनि राख्नुभएको छ ।
कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आउँदा ‘न्यायपालिका यसरी चल्दैन’ भनेर आफूले अस्वीकार गरेको राणाको दाबी छ ।
फागुन १ गते सत्तारुढ दलआवद्ध ९८ सांसदले राणाविरुद्ध महाभियोग दर्ता गराएका थिए । त्यसको ६ महिनापछि संसदले बनाएको ११ सदस्यीय महाभियोग सिफासिर समितिले आजबाट निलम्बित प्रधानन्यायाधीश राणासँग बयान लिन थालेको हो ।
प्रतिक्रिया