राजनीति

सिट बाँडफाँटको बाछिटा कांग्रेसमा, सबै शीर्षका आ-आफ्नै दाउ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ भदौ १२ गते २१:०५
सिट बाँडफाँटको बाछिटा कांग्रेसमा, सबै शीर्षका आ-आफ्नै दाउ (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको सकस जारी रहँदा त्यसको प्रभाव नेपाली कांग्रेसमा देखिन थालेको छ । कति सिट दाबी गर्ने भन्नेमा शीर्ष नेताबीच नै समान धारणा बनिसकेको छैन ।

प्रधानमन्त्रीसमेत रहनुभएका सभापति शेरबहादुर देउवा ८०, महामन्त्री गगन थापा १ सय र कार्यदलको संयोजक कृष्ण सिटौला ९० सिट हाराहारीको पक्षमा देखिनुभएको छ । गठबन्धनमा पाउने सिट कति हो भन्ने यकिन नहुँदै कांग्रेसका शीर्ष तहका नेता समूहगत दाबी गर्न थालेका छन् ।

जतिसुकै संख्यामा गठबन्धनमा भाग लगाएपनि कांग्रेसभित्रका विभिन्न समूह आफूले बढीभन्दा बढी संख्यामा उम्मेदवार बनाउन दबाब दिने ‘मूड’मा छन् । कांग्रेसभित्रै हुने किचलोले मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनलाई असर पर्न सक्छ ।

कांग्रेसका संस्थापनइतरको नेतृत्व गरेका डाक्टर शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री सिटौला र नेता प्रकाशमान सिंहलाई समेत अलगै भाग छुट्याएर आफ्ना पक्षका २० प्रतिशत नेतालाई उम्मेदवार बनाउनुपर्ने अडानमा हुनुहुन्छ । यसमा पनि महामन्त्री गगन थापाले आफ्नो छुट्टै भाग दाबी गर्ने सम्भावना छ । उहाँ निकटहरु सबै नेताले भाग खोज्दा महामन्त्री थापाले किन भाग नखोज्नेभन्दै प्रश्न गर्छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पुनः आफ्नो समूह सक्रिय पार्ने दाउमा रहँदा उहाँले २० जनाभन्दा बढीलाई उम्मेदवार बनाउनुपर्ने चाहना राख्नुभएको छ ।

हाल कोइरालासँग निकट देखिएका र पौडेललाई साथ दिंदै आएका नेताहरु नछुटुन भन्ने चाहना पौडेलको रहेको छ ।

रामचन्द्र पौडेलले उम्मेदवार बनाउन चाहेका नेताहरु
जीवन परियार (कास्की)
बद्री पाण्डे (बाजुरा)
मोहन पाण्डे (स्याङ्जा)
मधु आचार्य (काभ्रेपलाञ्चोक)
महेश आचार्य (मोरङ)
भरत खड्का (डोटी)
हृदयराम थानी (सुर्खेत)
रामकृष्ण यादव (धनुषा)
नारायणप्रसाद गौडेल (बाँके)

यी बाहेक पनि पौडेल आफ्ना पक्षका अन्य नेताहरु, जिल्ला सभापतिहरुलाई टिकट दिलाएर गुट बलियो पार्न चाहनुहुन्छ ।
पौडेल बाहेक पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि आफू निकटका २० भन्दा बढी नेताहरुलाई व्यवस्थापन गर्न चाहनुहुन्छ । तीन जना त उहाँकै जिल्ला झापाका नेताहरु रहेका छन् ।

कृष्णप्रसाद सिटौलाले उम्मेदवार बनाउन चाहेका नेताहरू
उद्धव थापा (झापा)
सुधीर शिवाकोटी (झापा)
देउमान थेवे (झापा)
धना खतिवडा (ललितपुर)
तारामान गुरुङ (संखुवासभा)
उत्तम चापागाईं (भोजपुर)
कुन्दन काफ्ले (दोलखा)
प्रदीप पौडेल (तनहुँ)

यी बाहेक पनि केही केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुलाई टिकट दिलाएर सिटौला आफ्नो गुट बलियो पार्न चाहनुहुन्छ ।

अर्का नेता प्रकाशमान सिंह पनि आफु निकटका नेताहरुलाई सुरक्षित पार्न नेतृत्वलाई दबाब दिंदै आउनुभएको छ । अन्तिम समयमा उहाँलाई साथ दिएकी सुजाता कोइराला, सबुज बाँनियालगायतका नेताहरुलाई सिंहले गुना तिर्न खोज्नुभएको छ । संस्थापन पक्ष छाडेका विमलेन्द्र निधीले पनि भाग खोज्ने निश्चित छ ।

यसो हुँदा कांग्रेस सभापति शेरबहादुर देउवा आफैंलाई आफ्नो गुटको व्यवस्थापन गर्न चुनौती हुने देखिएको छ । उहाँले ७० प्रतिशतभन्दा बढी सिट कसैलाई नदिने मूड बनाउँदै आउनुभएको छ । कांग्रेसभित्र देखिएको यो किचलोले गठबन्धनको सिट बाँडफाँट नै प्रभावित बनेको छ । कांग्रेसमा कुरा नमिलाएसम्म गठबन्धनको गाँठो फुक्ने सम्भावना कम रहेको कांग्रेस नेताहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्