खेलकूद

राष्ट्रियस्तरमा गोल रक्षक उत्पादनमा सक्रिय एक नाम हो, उज्वल मानन्धर (भिडियो रिपोर्टसहित)

२०७९ भदौ १२ गते २१:००
राष्ट्रियस्तरमा गोल रक्षक उत्पादनमा सक्रिय एक नाम हो, उज्वल मानन्धर (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७९ काठमाडौं । कुनै पनि खेलमा प्रशिक्षकको भूमिका महत्वपूर्ण हुन्छ । फुटबलको कुरा गर्ने हो भने टोलीको नतिजामा त्यसको सम्पूर्ण जस–अपजस प्रशिक्षकमाथि आउने गर्छ । यद्यपि राम्रो प्रदर्शन गर्दा खेलाडीनै त्यसको भागिदार बन्छन् ।

एकाध रुपमा मुख्य प्रशिक्षक पनि यसमा समेटिन्छन् तर गोलरक्षक प्रशिक्षक भने अधिकांश समय छायाँमा पर्छन् । तथापी आफ्नो भुमिकामा न्याय गर्दै करिब २ दशकदेखि क्लब र राष्ट्रिय स्तरमा गोलरक्षक उत्पादनमा सक्रिय एक नाम हो, उज्वल मानन्धर ।

उनी हुन् उज्वल मानन्धर । एक दशकको खेलाडी जीवनपछि २०६२–६३ को सिजनमा संकटा क्लबबाट उनी पहिलो पटक प्रशिक्षकको भूमिकामा देखिए ।

एएफसी लेवल वान प्रशिक्षक उनले २०७३ सालमा जापानी प्रशिक्षक ग्योतोकु कोजीको टोलीमा रहेर राष्ट्रिय टोलीको गोलरक्षक प्रशिक्षकको जिम्मेवारी सम्हाले । त्यही समय नेपालले एएफसी सोलिडारीटी कप फुटबलको उपाधि जित्यो । एएफसी स्तरमा नेपालले पाएको अहिलेसम्मकै ठूलो उपलब्धिको हिस्सा बन्न पाए उनी ।

राष्ट्रिय टोलीमा मात्र नभई घरेलु फुटबलमा पनि उनी सफल प्रशिक्षकका रुपमा स्थापित छन् । संकटा, थ्रीस्टार जस्ता सफल टोलीको गोलकिपर प्रशिक्षक रहि सकेका उनी गत सिजनमा ए डिभिजनको नव प्रवेशी टोली सातदोबाटो युथ क्लबको गोलरक्षक प्रशिक्षक थिए । शीर्ष डिभिजनमा बढुवा भएको पहिलो सिजिनमै क्लबलाई चौथो स्थानमा ल्याउन उनको भूमिका पनि महत्वपूर्ण थियो । तर पनि नेपालमा गोलकिपर प्रशिक्षक ओझेलमा पारिँदा भने उनी निराश छन् ।

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङदेखि विभिन्न उमेर समुहका गोलकिपरलाई प्रशिक्षण गराईरहेका मानन्धरको मार्ग दर्शनबाट खेलाडी पनि प्रभावित छन् ।

घरेलु खेलकुदमा यसैपनि खेलाडीलाई प्रशिक्षणका लागि आवश्यक पूर्वाधार र सामग्रीको अभाव छ । एन्फामा पटक पटक प्रयास गर्दा पनि खासै सुनुवाई हुन सकेको छैन । त्यसैले अब मानन्धर आफ्नै अग्रसरतामा गोलकिपिङ एकेडेमी निर्माण गर्ने सपना बुन्दैछन् ।

राष्ट्रिय टोलीको गोलकिपर प्रशिक्षकका रुपमा सफल भए पनि विभिन्न समयमा एन्फाको आन्तरिक राजनीतिको शिकार बनेका उनी अहिले उमेर समुहका खेलाडीलाई निखारी रहेका छन् । खेलाडी जीवनमा गोलकिपरका रुपमा सफल उज्ज्वल मानन्धर अहिले आफु जस्तै अब्बल गोलकिपर निर्माणमा निरन्तर केन्द्रित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्