भारतको प्लान्ट क्वारेन्टिनको सूचीमा नसमेटिँदा नेपालगञ्जमै थन्कियो नेपाली जडिबुटी (भिडियो रिपोर्टसहित)

११ भदौ २०७९ नेपालगञ्ज । भारतको प्लान्ट क्वारेन्टिनको सूचीमा नसमेटिँदा नेपाली जडिबुटी नेपालगञ्जमै थन्किएको छ । तीन वर्षदेखि निर्यात हुन नसकेपछि करिब दुई हजार टन जडिबुटी नेपालगञ्जस्थित जडिबुटी व्यवसायी संघमै थन्किएको हो ।
भारतले २०७६ सालमा राजपत्रमा सूचना जारी गरेर विदेशबाट आयात गर्ने जडिबुटीको नयाँ सूची जारी गर्यो । तर, सूचीमा पखानवेद, कुरिलो, अमला, पदमचाल, चिराइतो, अमलवेद, अतिस, कालादाना, र सिकाकाई अटाएनन् ।
जसले गर्दा जडिबुटी निकासी हुन सकेन र व्यवसायीको गोदाममै थन्किन पुग्यो । २ हजार मेट्रिक टन बराबरका यिनै जडिबुटी तीन वर्षदेखि गोदाममा थन्किएका छन् । लामो समय गोदाममा राख्दा जडिबुटीको गुणस्तरमा कमी आएको छ भने व्यवसायीले करोडौं नोक्सानी खेप्नु परेको छ ।
निकासी हुने जटिबुटीको सूची भारतको प्लान्ट क्वारेन्टिनका अनलाइन सिस्टममा हुन्छ । अनलाइन सिस्टममा नाम भएका जडिबुटी निकासी भइरहेको छ ।
भारतको प्लान क्वारेन्टिनसँग समन्वय गरेर नेपालका जडिबुटी भारतको क्वारेन्टिनमा सूचीकृत गराउन सके निर्यातमा समस्या नहुने व्यवसायीको भनाइ छ । तर, सरकारले नै निर्यातमा सहजीकरण नगरेको जडिबुटी व्यवसायी संघको गुनासो छ ।
एक दशक अघिसम्म नेपालगञ्ज नाकाबाट वार्षिक ७ हजार मेट्रिक टनसम्म जडिबुटी भारत निकासी हुने गरेको थियो ।
पछिल्ला वर्षमा जडिबुटीको निकासी घटेर ४ हजार ८ सय मेट्रिक टन पुगेको छ । नेपालगन्ज नाकाबाट यसअघि ८० किसिमको जडिबुटी भारत निकासी हुँदै आएको थियो ।
प्रतिक्रिया