Main News

नक्सा विपरित राखिएका व्यापार व्यवसाय हटाउन तातियो महानगर (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ६ गते २१:२८
नक्सा विपरित राखिएका व्यापार व्यवसाय हटाउन तातियो महानगर (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ काठमाडौं । काठमाडौंको बानेश्वर सडक खण्ड आसपासका व्यापारिक भवनहरु निर्माणका लागि नक्सा पास गर्दा अण्डरग्राउण्डमा पार्किङको व्यवस्था गर्ने उल्लेख छ । तर, कसैले पनि पार्किङको व्यवस्था नगरेर व्यवसाय सञ्चालन गरिरहेका छन् । नियम पालना गर्न पटकपटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगर एक्सनमा उत्रिएको छ ।

पार्किङ व्यवस्थित बनाउन काठमाडौं महानगरपालिका ‘एक्सन’मा उत्रिएको छ । महानगर प्रमुख बालेन्द्र शाह सोमबार दलबलसहित नयाँ बानेश्वर पुग्नुभयो । नगरप्रहरीको टोलीसहित पुगेका प्रमुख शाहले पार्किङका लागि नक्सा पास भएका भवनको ‘अण्डरग्राउण्ड’लाई व्यापारिक प्रयोजनमा किन प्रयोग गरियो भन्दै प्रश्न गर्नुभयो ।

उहाँले ति व्यवसायीलाई ३५ दिने सूचनाबारे जानकारी छ कि छैन भन्दै प्रश्न गर्नुभयो । कतिपय व्यवसायीहरुले थाहा भएपनि सम्बन्धित घरबेटीले बेवास्ता गरेको बताएका थिए भने केहीले जानकारी नै नभएको भनेका थिए । काठमाडौं महानगरको अव्यस्थित पार्किङलाई व्यवस्थित बनाउन साउन १ गते सार्वजनिक सूचना जारी गरिएको थियो ।

महानगरले ३५ दिनभित्र अन्डरग्राउन्ड पार्किङभित्रका अन्य पसल तथा गोदाम हटाउन निर्देशन दिएको थियो । नक्सा पास अनुसार अण्डरग्राउण्डमा पार्किङ नै हुनुपर्ने महानगरको तर्क छ । तर महानगरको निर्देशनलाई घरधनीले अवज्ञा गरेपछि त्यस्ता व्यावसाय सोमबारबाटै हटाउन थालिएको हो । त्यसको सुरुवात नयाँ बानेश्वर क्षेत्रबाट गरियो ।

नाक्सा पास गर्दा अण्डरग्राउन्ड पार्किङको नाममा सुविधा र छुट लिने तर व्यवहारिक रुपमा मोटो रकम कमाउन विभिन्न व्यवसाय गर्न दिने प्रवृत्ति बढेपछि महानगर आक्रामक बनेको हो ।

पार्किङका लागि छुट्याइएको स्थानमा भोजनालय, क्याफे, रेस्टुराँदेखि इलेक्ट्रोनिक्स, फेन्सी र नाइट क्लबसम्म सञ्चालन हुँदैआएका छन । ३५ दिने सार्वजनिक सूचना बेवास्ता गर्दै आएका व्यवसायीहरुमध्ये केहीले जानकारी नभएकोसम्म भन्न भ्याए । कति त घरधनीकै धापमा व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

काठमाडौं महानगरकामा पार्किङ ठूलो चुनौती बनेको छ । यस्तोमा महानगरले चालेको कदमलाई आम नागरिकले रुचाएका छन् । महानगरले चालेको कदमले निरन्तरता पाए काठमाडौंमा पार्किङ व्यवस्थित हुनसक्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *