कर्णालीमा घटेन दुर्घटना, सडकको गुणस्तर र चालक दोषी (भिडियो रिपोर्टसहित)

२०७९ भदौ ६ गते १७:५६
कर्णालीमा घटेन दुर्घटना, सडकको गुणस्तर र चालक दोषी (भिडियो रिपोर्टसहित)

६ भदौ २०७९ सुर्खेत । कर्णाली प्रदेशका १० वटै जिल्लाका सडक गुणस्तरीय छैनन् । भौगोलिक अवस्थाका कारण यात्रा झन् जोखिमपूर्ण हुने गरेको छ।

साँघुरो सडकमा तीव्र गति र चालकको लापरवाहीका कारण प्रदेशभर सडक दुर्घटना बढिरहेका छन् । तीन वर्षयता सडक दुर्घटनाकै कारण तीन सय ९२ जनाको मृत्यु भइसकेको छ तर दुर्घटना न्यूनीकरणका लागि खास पहल भएको छैन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, सुर्खेतका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७६–७७ मा २ सय ३६ वटा सवारी दुर्घटना हुँदा ९७ जनाको मृत्यु भयो ।

आर्थिक वर्ष २०७७–७८ मा २ सय ९१ वटा दुर्घटना हुँदा ९८ जनाले ज्यान गुमाए भने आर्थिक वर्ष २०७८–७९ मा ४ सय ३ वटा दुर्घटना हुँदा १ सय ९७ जनाले ज्यान गुमाए ।

तीव्र गतिमा सवारी चलाउनु र साँघुरो सडक कर्णाली प्रदेशमा दुर्घटनाको मुख्य कारण मानिएको छ । हिलाम्य सडकका कारण पनि दुर्घटना बढ्ने गरेका छन् । यात्रु भने चालकले मादक पदार्थ सेवन गर्ने, क्षमताभन्दा बढी यात्रु चढाउने र पुराना सवारीसाधन चलाउनु नै दुर्घटनाको कारण मान्छन् ।

तर, सवारी चालक भने दुर्घटनामा यात्रुको पनि उत्तिकै दोष हुने बताउँछन् । तीव्र गतिमा सवारी चलाउन दिइने दबाबले पनि सडक दुर्घटना बढेको सवारी चालकको भनाइ छ ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । तर, दुर्घटनामा कमी आएको छैन । ट्राफिक नियम विपरीत गतिविधि गर्नेलाई कारवाही गर्ने क्रम पनि जारी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतको भनाइ छ ।

चाडपर्व नजिकिँदा थप दुर्घटना बढ्न सक्ने हुँदा सरकारले यसलाई न्यूनीकरण गर्न उचित योजना ल्याउनुपर्ने माग उठिरहेको छ । दुर्घटनाकै कारण सरकारलाई उपचार, अनुसन्धान, बीमा, क्षतिपूर्तिलगायत विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा वृद्धि हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *