Main News

प्रतिनिधिसभा सदस्य गिरीको निधनमा शोक प्रस्ताव पारित

२०७९ भदौ ६ गते १३:५५
प्रतिनिधिसभा सदस्य गिरीको निधनमा शोक प्रस्ताव पारित

६ भदौ २०७९ काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाले प्रतिनिधिसभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो ।

विसं २००६ मा सिरहाको बस्तीपुरमा जन्मिनुभएका प्रतिनिधिसभाका सदस्य गिरीको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा यही भदौ ४ गते शनिबार राति ९ः३० बजे निधन भएकामा राष्ट्रियसभाले गहिरो शोक प्रकटसमेत गरेको छ ।

स्वर्गीय गिरी नेपाली कांग्रेसबाट २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नं ५ बाट निर्वाचित सदस्य, विसं २०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित प्रतिनिधिसभा सदस्य, विसं २०६४ र विसं २०७० मा संविधानसभा सदस्य र विसं २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा सिरहा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सदस्य हुनुहुन्थ्यो ।

बैठकले स्व गिरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदनसमेत प्रकट गरेको छ । बैठकमा गिरीको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही भदौ १२ गते अपराह्न १ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *