Main News

प्रदेश प्राप्तिमा सहिद भएकाका परिवारलाई सरकारले बिर्सिएपछि…(भिडियो रिपोर्टसहित)

२०७९ भदौ ४ गते २१:०७
प्रदेश प्राप्तिमा सहिद भएकाका परिवारलाई सरकारले बिर्सिएपछि…(भिडियो रिपोर्टसहित)

४ भदौ २०७९ सुर्खेत । राज्यको पुनर्संरचनाका क्रममा मध्यपश्चिमका भूभागलाई ७ नम्बर प्रदेशमा समावेश गरेपछि २०७२ साउन २३ गतेदेखि शुरु भएको आन्दोलन र ४ जनाको बलिदानीले कर्णाली प्रदेश स्थापना भएको थियो । तर प्रदेश प्राप्तिमा ज्यान बलिदानी दिएका सहिद परिवार भने प्रदेश सरकारले बिर्सिएकोमा दुःखी छन् ।

प्रदेश निर्माणको राजनीतिक निर्णयमा असन्तुष्टि जनाउँदै २०७२ साउन २३ गतेदेखि अखण्ड मध्यपश्चिम प्रदेशको माग गर्दै वीरेन्द्रनगरमा आन्दोलन सुरु भयो । आन्दोलनमा सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम, गोपालसिंह रजवार र जुम्लाका हरिबहादुर कुँवरले ज्यान गुमाए । यही आन्दोलनका कारण भदौ ४ गते तत्कालीन राजनीतिक दलले मध्यपश्चिम क्षेत्रका जिल्लाहरु समेटेर छुट्टै प्रदेश बनाउने सहमति गरे ।

साविक कर्णाली अञ्चलका पाँच, भेरीका तीन र राप्तीका दुई जिल्ला समेटेर नयाँ अर्थात् सातौँ प्रदेश बनाइयो । तत्कालीन समयमा यो प्रदेश ६ नम्बर प्रदेशका रुपमा रह्यो र कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश नामाकरण गर्‍यो।

भदौ ४ गते छुट्टै प्रदेश प्राप्त भएको दिनलाई कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा सहिद दिवसको रुपमा मनाउने गरेको छ । तर यही दिनमा पनि प्रदेश सरकारले प्रदेश स्थापनाका लागि ज्यानको बलिदानी दिएका सहिदहरुलाई नसम्झिएको सहिद परिवारको गुनासो छ ।

प्रदेश सरकारले सहिद पार्कमा प्रदेश स्थापनाको अवसरममा धुमधामका साथ कार्यक्रम मनाउँदा सहिद परिवारलाई भने कुनै खबरसमेत नगरेको सहिद गोपालसिंह रजवारका छोरा दिपक सिंहले बताउनुभयो ।

प्रदेश सरकारले सहिदको सम्मानमा कुनै पूर्वाधारको नामकरण र परिवारलाई रोजगारी दिने मागहरु अझै सम्बोधन नगरेको स्थानीयको आरोप छ ।

प्रदेश सरकार भने सहिदलाई सम्मान गर्ने कुरामा भन्दा पनि आश्वासन दिने कुरामै व्यस्त छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाही सहिद परिवारले उठाएका माग पुरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुहुन्छ ।

सहिदका सपना पूरा गर्ने आश्वासन दिएको प्रदेश सरकारले सहिद दिवसकै दिनसमेत परिवारका सदस्यलाई समेत सम्झिन आवश्यक नठान्दा सहिद परिवार दुःखी छन् । उनीहरु सरकारले गरेका बाँकी प्रतिबद्धता पूरा होलान् भन्नेमा विश्वस्त हुन सकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *