Main News

नागरिकता विधेयकमाथि अब राष्ट्रिय सभामा छलफल हुने

हिमालय टिभी
२०७९ भदौ ३ गते ८:५६
नागरिकता विधेयकमाथि अब राष्ट्रिय सभामा छलफल हुने

३ भदौ २०७९ काठमाडौं । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित गरेसँगै अब राष्ट्रिय सभामा छलफल हुने भएको छ ।

संविधानको धारा १ सय १३ (४) मा राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गर्नुपर्ने व्यवस्था छ । तर प्रतिनिधि सभामा हिजो दिनभरजसो भएको छलफलपछि कुनै संशोधन नगरी बहुमतबाट विधेयक पारित गरिएको हो ।

१ सय ९५ जना सांसद उपस्थित रहेको बैठकमा मतदान गर्दा विधेयकको पक्षमा १ सय ३५ र विपक्षमा ६० सांसदले मत दिएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभयो ।

नागरिकता विधेयक प्रतिनिधि सभामा उत्पत्ति भएकाले राष्ट्रपतिले पुनर्विचार गर्न भन्दै सन्देशसहित प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो । अब राष्ट्रिय सभामा विधेयकमा छलफल हुने संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले बताउनुभयो ।

राष्ट्रिय सभाले संशोधनसहित पारित ग¥यो र त्यसलाई प्रतिनिधिसभाले अस्वीकार गरेको अवस्थामा दुबै सदनको संयुक्त बैठकमा रहेका ३ सय ३४ सदस्यले बहुमत र अल्पमतका आधारमा निर्णय गर्नुपर्ने कानुनी व्यवस्था रहेको विज्ञहरूको भनाइ छ ।

हिजो बिहान ११ बजेदेखि शुरु भएको बैठकमा ८२ जना सांसदले नागरिकता विधेयकमा आफ्नो धारणा राखेका थिए । नेपाली कांग्रेसका सांसद् गगन थापाले राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्दा लैङ्गिक समानताको विषयमा उठाउनुभएको विषय महत्वपूर्ण भएको बताउनुभयो ।

नेकपा एमालेका सांसद डा. भीम रावलले नेपालमा विदेशी नागरिकलाई हुलेर नेपालको अस्तित्व समाप्त गर्ने षड्यन्त्र भएको टिप्पणी गर्नुभयो । सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले संविधान अनुकुल विधेयक ल्याएको दावी गर्दै नागरिकता लिनबाट बन्चित भएका नेपालीहरूलाई नागरिकता दिने सरकारको उद्देश्य रहेको बताउनुभयो ।

गत साउन ६ गते प्रतिनिधि सभा र १२ गते राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक राष्ट्रपति कार्यालयबाट सन्देशसहित गत सोमबार फिर्ता भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *