राजनीति

संघ र प्रदेश निर्वाचन आयोगमा ७६ दल दर्ता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३१ गते २१:४२
संघ र प्रदेश निर्वाचन आयोगमा ७६ दल दर्ता (भिडियो रिपोर्टसहित)

३१ साउन २०७९ काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि ७६ दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । कतिपय दलले एउटै निर्वाचन चिन्हबाट निर्वाचन लड्नका लागि पनि निवेदन दर्ता गराएका छन् । बाबुराम भट्टराई र वामदेव गौतम माओवादी केन्द्रकै चुनाव चिन्हमा निर्वाचन लड्ने छन् ।

निर्वाचन आयोगले दिएको अन्तिम समयसीमा अर्थात मंगलबार अबेरसम्म निर्वाचन आयोगमा दर्ता भएका ११६ मध्ये आगामी निर्वाचनका लागि ७६ दलले दल दर्ताको निवेदन दिएका छन् ।

आयोगमा प्राप्त निवेदन अनुसार सीके राउत नेतृत्वको जनमत पार्टीले एक नम्बरमा दल दर्ताको निवेदन दिएको थियो भने सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले अन्तिममा दल दर्ता गरायो ।

केन्द्रीय समितिमा ३३ प्रतिशत महिला हुनुपर्ने बाध्यकारी प्रावधान रहेकाले १० महिला केन्द्रीय सदस्य मनोनित गर्दै कांग्रेस ३३ प्रतिशत पुर्‍याएर आयोग पुग्यो । कांग्रेस उपसभापति धनराज गुरुङले सोही कारण आयोग आउन ढिलाई भएको बताउँदै गठबन्धनलाई बलियो बनाएर जाँदा कांग्रेसले अधिकतम सिटमा दाबा गरेपनि मिलाएर अघि बढ्ने बताउनुभयो ।

माओवादी केन्द्रले केही दिनअघि नै निर्वाचन आयोगमा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आवेदन दिइसकेको छ । बाबुराम भट्टराई पनि माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लड्ने सहमतिपछि माओवादी र नेपाल समाजवादी पार्टीले मंगलबार फेरि संयुक्त रुपमा आवेदन दिएका छन् ।

नेपाल राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतम पनि माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्दा के हुन्छ ? भन्दै बुझ्न आयोग पुग्नुभएको थियो । आयोगबाट बाहिरिँदै उहाँले यसपटक आफू जित्नका लागि माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्ने बताउनुभयो ।

आयोगमा अरु ३ वटा दलले एउटै चुनाव चिन्हमा निर्वाचन लड्ने गरी आवेदन दिएका छन् । आयोगले प्राप्त निवेदनहरु हेरेर आउँदो निर्वाचनका लागि दर्ता दलको संख्या एकीन गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्