राजनीति

माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति

एउटै घोषणा पत्र र चिन्ह लिएर चुनावी मैदानमा उत्रने

हिमालय टिभी
२०७९ साउन २९ गते १७:११
माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति

२९ साउन २०७९ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

विभिन्न चरणमा दुई नेताबीच भएका छलफलमा मिलेर जाने सहमति भएको हो । यद्यपि पार्टी एकताको औपचारिक घोषणा भने चुनावपछि गर्ने सहमति भएको छ ।

एकीकृत पार्टीको नाम तथा केही वैचारिक विषय मिल्न बाँकी रहेकाले चुनावमा मिलेर जाने र पछि एकता घोषणा गर्ने तयारी भएको नेताहरूले बताएका छन । दुई नेताबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने सहमति भएको छ ।

यो सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन हुन भने बाँकी छ । यद्यपि, प्रचण्डले यसबारे पार्टीका अधिकांश शीर्ष नेतालाई ब्रिफिङ गरिसक्नुभएको छ । सहमतिअनुसार भोलि दुवै दल संयुक्तरूपमा निर्वाचन आयोग जाने तय भएको छ ।

दुवै दलले आगामी निर्वाचनका लागि दल दर्ता गराएका छैनन् । माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया–हथौडा र समाजवादीको आँखा छ । साझा चुनाव चिन्ह हँसिया–हथौडा हुने बताइएको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको छ । निर्वाचन ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय दल बन्ने व्यवस्था छ ।

त्यसैले, चुनावपछि पार्टी एकता गर्नै पर्ने बाध्यता दुवै दललाई हुनेछ । १० वर्ष लामो शसस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुराम ६ वर्षपछि फेरि एकै ठाउँमा आउन लाग्नु भएको हो । २०७३ साल जेठ ३० गते तत्कालिन माओवादी छाडेर भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्