धौलागिरी अस्पतालले चुस्त रुपमा सेवा प्रवाह गर्न नसकेको आरोप (भिडियो रिपोर्टसहित)

२०७९ साउन २८ गते २०:२२
धौलागिरी अस्पतालले चुस्त रुपमा सेवा प्रवाह गर्न नसकेको आरोप (भिडियो रिपोर्टसहित)

२८ साउन २०७९ बागलुङ । धौलागिरि अस्पताल, बागलुङले बिरामीलाई चुस्त रुपमा सेवा प्रवाह गर्न नसकेको आरोप लाग्न थालेको छ।

चिकित्सक समयमा नआउने, सेवा पाउन धेरै दिन कुर्नुपर्नेलगायत समस्या बिरामीले बेहोरिरहेका छन् । अस्पतालले भने जनशक्ति अभावले प्रभावकारी सेवा दिन नसकेको जनाएको छ।

धौलागिरी अस्पतालमा स्वास्थ्य सेवा लिन आउने बिरामीको भीड छ । लामो समय लाइनमा बसेका सेवाग्राही काउन्टरसम्म पुगेपछि कर्मचारीले बिल काट्न नै नमानेपछि आक्रोसित छन् ।

केही दिन अघि १५ महिने बालकको उपचारका लागि अस्पतालमा ल्याउने बित्तिकै मृत्यु भयो । अस्पतालले पोष्टमार्टम गर्न नमानेर पोखरा लैजानु भनेपछि मृतकका आफन्त आक्रोशित भए ।

अस्पतालमा कार्यरत रेडियोलोजिस्ट यो क्लिनिकमा पनि काम गर्नुहुन्छ । अनि यो अस्पतालले एक्सरे गर्न नमानेपछि क्लिनिकमा एक्सरे गर्न बसेका बिरामीको भिड छ।

पछिल्लो समय धौलागिरी अस्पतालमा देखिएका दृष्यले देखाउँछ कि सेवाग्राही सन्तुष्ट छैनन् । विभिन्न बाहानामा अस्पतालले दुःख दिने गरेको बिरामीको आरोप छ । चिकित्सक समयमै नआएको, चार दिनसम्म पनि सेवा नपाएको, सेवा उपलब्ध छैन् भन्दै फर्काएको अनेकन दुखेसो छ बिरामीको ।

अस्पतालको पनि आफ्नै बाध्यता छ । बिरामीको चाप बढिरहेको र जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको अस्पतालले बताएको छ । जनशक्ति थप भए समस्या समाधान हुने अस्पतालको भनाइ छ।

तर, समस्या कर्मचारी अभाव हुनु मात्र नभै भएका कर्मचारी समयमा नआउनु र जिम्मेवार ढंगले काम नगर्नु पनि हो ।

सरकारले सुलभ र सहज स्वास्थ्य सेवा दिन भनेर स्थापना गरेको अस्पतालमा नै नागरिकले सेवा पाउँदैनन् । जसोतसो आर्थिक जोहो गरेर ग्रामीण भेगबाट उपचारका लागि जिल्ला सदरमुकाम आएका बिरामी उपचार नपाउँदा रोगसँगै ऋण पनि बोक्न बाध्य छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *