Main News

समुदायले जिम्मा लिएपछि ११ प्रतिशतले बढ्यो वन (भिडियो रिपोर्टसहित)

२०७९ साउन २४ गते २०:३८
समुदायले जिम्मा लिएपछि ११ प्रतिशतले बढ्यो वन (भिडियो रिपोर्टसहित)

२४ साउन २०७९ काठमाडौं । नेपालमा पछिल्लो ४० वर्षमा ११ प्रतिशत वन वृद्धि भएको सरकारी तथ्याङ्क छ । निरन्तर नासिँदै गएको वन समुदायमा हस्तान्तर भएपछि संरक्षण शुरु भएको हो । तर पुनः सरकारले नै यी वन आफू मातहतमा लिने गरी नियामावली बनाएकोमा सामुदायिक वन उपभोक्ताहरु चिन्तित भएका छन् ।

नेपालीमा एउटा उखान छ, ‘हरियो वन नेपालको धन’, यही उखानलाई सार्थकता दिलाउन देशभर २२ हजारभन्दा बढी सामुदायिक वन छन् । नेपालको पछिल्लो अभिलेखअनुसार कुल क्षेत्रफलको ४४ प्रतिशत भूभाग वनजंगलले ओगटेको छ । त्यसमध्ये अधिकांश वन सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत छन् ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको तथ्याङ्कअनुसार २९ लाख घरधुरी यिनै सामुदायिक वनमा आवद्ध छन् । झण्डै एक करोड ४० लाख जनसंख्या यी नै वन पैदावरको प्रयोगबाट दैनिकी चलाउँदै आएका छन् । यसले एकातिर सामुदायिक वन आसपासका जनताको गुजारा चलिरहेको छ भने अर्कोतर्फ वन संरक्षणमा पनि योगदान पुगेको छ

४० वर्षअघि समुदायमा आएपछि वन ११ प्रतिशत वृद्धि भएको छ । तर पछिल्लो समय सरकारले ल्याएको वन ऐनले नै वन दोहन बढेको सामुदायिक वन उपभोक्ता महासंघको ठम्याइ छ । सरकारले ऐनमा निश्चित समयका लागि निश्चित जमिन भाडामा दिने भनेको छ । यसले पछि विकराल रुप लिने महासंघको चेतावनी छ ।

सरकारी नियमकै कारण नेपालमा बर्सेनि काठ दाउरा लगायतका वन पैदावर खेर गइरहेका छन् भने अर्कोतर्फ यस्ता वस्तु आयातको मात्रा पनि बढ्दो छ । चुनावको मुखमा राजनीतिक पार्टीका नेताहरुले सुकुम्वासी व्यवस्थापनका लागि वन दिने तयारीले पनि वनमा असर पर्ने देखिएको छ । ऐनमा भएको व्यवस्थासँग बाझिने नियमावली बनाउन नहुने दलका नेताहरु पनि बताउँछन् ।

नेपालमा मानवीय कारणले मात्रै नभएर प्राकृतिक कारणले पनि वन विनाश बढ्दो छ । बाढी, पहिरो, भू–क्षय, आगलागीजस्ता कारणले पनि वन विनाश हुँदैछ । यस्ता कारक तत्वको न्यूनीकरणमा सबै सरोकारवालाले ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *