खेलकूद

केन्या टुरमा जाने राष्ट्रिय क्रिकेट टोली घोषणा

हिमालय टिभी
२०७९ साउन २४ गते १८:५०
केन्या टुरमा जाने राष्ट्रिय क्रिकेट टोली घोषणा

२४ साउन २०७९ काठमाडौं । पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पुनरागमन गराउँदै नेपाल क्रिकेट संघ (क्यान)ले केन्याविरुद्धको ट्वेन्टी–ट्वेन्टी र एक दिवसीय सिरिजका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।

क्यानले आज सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गर्दा ज्ञानेन्द्र मल्ललाई पनि समेटेको हो । उनी पछिल्लो पटक गत मार्चमा युएई भ्रमणमा थिए ।

उनीसँगै साहब आलम, विवेक यादवले पनि टोलीमा पुनरागमन गर्दा यसअघि टोलीमा रहेका विनोद भण्डारी र कुशल भुर्तेल भने टोलीमा छैनन् । विनोद र कुशल दुवैको प्रदर्शन अमेरिका भ्रमणमा सन्तोषजनक थिएन । यस पटक युवा खेलाडी अर्जुन साउदले टोलीमा स्थान बनाएका छन् ।

घरेलु प्रतियोगितामा सुदूरपश्चिमबाट खेल्दै आएका विकेटकिपर अर्जुनले १९ वर्ष मुनिको टोलीबाट भने खेलिसकेका छन् । सानै उमेरमा विकेटकिपरसँगै विष्फोटक ब्याटिङ गर्ने क्षमताका कारण उनी धेरैको नजरमा परेका थिए । टोलीमा जितेन्द्र मुखिया, भीम सार्की, प्रतिश जिसी र हरिशंकर साहलाई वैकल्पिक खेलाडीका रुपमा राखिएको छ ।

केन्यासँग नेपालले ५ ट्वेन्टी–ट्वेन्टी र ३ एकदिवसीय सिरिज खेल्नेछ । ट्वेन्टी–ट्वेन्टी सिरिज भदौ ९ देखि १४ गतेसम्म हुनेछ । त्यसपछि २ दिनको विश्राम दिइएको छ । एक दिवसीय सिरिज भने भदौ १७ गतेदेखि २० गतेसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्