Main News

जग्गा मिचेको मुद्दामा नर्भिक अस्पताल र काठमाडौंका मेयरबीच भयो यस्तो सहमति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २४ गते १६:५४
जग्गा मिचेको मुद्दामा नर्भिक अस्पताल र काठमाडौंका मेयरबीच भयो यस्तो सहमति (भिडियो रिपोर्टसहित)

२४ साउन २०७९ काठमाडौं । नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिकसहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ ।

महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिए पनि तत्काल अल्टिमेटमअनुसार संरचना नभत्काइने भएको हो । आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक राखेर प्राविधिकहरुको निर्देशन अनुसार अगाडी बढ्ने सहमति गर्नुभएको हो ।

उहाँले प्राविधिकहरुले दिएको सुझाव अनुसार ३० देखि ३५ दिनमा संरचना व्यवस्थान गर्नुपर्ने बताउनुभयो । मेयर शाहले नियम सबैलाई बराबर हुनुपर्ने बताउनु भयो । उहाँले सार्वजनिक जग्गा मिच्ने, फुटपाथ मिच्ने विषय एउटै भएकाले सबैलाई कानून बराबर लाग्ने बताउनु भयो ।

मेयर शाहले आफूलाई अस्पतालले सरकारसँग जग्गा लिजमा लिएको विषयमा समस्या नभएको बताउनुभयो । उहाँले अस्पताललाई मन्त्रिपरिषद्ले निर्णय गरेर जग्गा लिजमा दिए पनि महानगरलाई केही फरक नपर्ने तर मन्त्रिपरिषद्ले जग्गा अस्पताललाई दिनुपर्ने बताउनुभयो ।

अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले सरकारसँग भएको जग्गा लिजको सम्झौताको पूर्ण रुपमा पालना गरेको बताउनुभयो । उहाँले अझै अस्पतालसँग सम्झौता अनुसार ८ वर्ष बाँकी रहेको बताउनुभयो । अध्यक्ष सिंहले महानगर र अस्पतालका प्राविधिकहरुको समितिले दिएको सुझाव अनुसार अगाडी बढ्ने कुरा भएको बताउनु भयो ।

नर्भिक अस्पतालले आफूले कानून अनुसार जग्गा भाडामा लिएको र त्यहाँ अस्पतालका लागि अत्यावश्यक अक्सिजनसहितका सामग्री भण्डारणमा रहेको बताउनुभयो छ ।

अस्पताल र महानगरबीच समिति बनाउने र उसकै सिफारिस अनुसार अघि बढ्ने सहमति भएको छ । नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्शा पास नगरी घर टहरा बनाएको महानगरको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *