Main News

परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

हिमालय टिभी
२०७९ साउन २४ गते ७:३५
परराष्ट्रमन्त्री खड्का आज चीन जाँदै

२४ साउन २०७९ काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का चीनको औपचारिक भ्रमणमा जान लाग्नु भएको हो । गत वर्ष असारमा देउवा सरकार गठनपछि नेपालबाट चीनतर्फ हुन लागेको यो नै उच्चस्तरीय भ्रमण हो ।

मन्त्री खड्का र चिनियाँ विदेशमन्त्री वाङबीच चीनको पूर्वमा पर्ने सान्दोङ प्रान्तस्थित तटीय सहर छिङदाओमा प्रतिनिधिमण्डलस्तरमा भोलि द्विपक्षीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। खड्का र नेपाली भ्रमण टोलीको सम्मानमा वाङले भोलि नै रात्रिभोज दिनुहुनेछ । चीन भ्रमणमा परराष्ट्रमन्त्री खड्काले नेपालको एक चीन नीतिप्रति प्रतिबद्धता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणमा नेपाल र चीनबीचको सीमा समस्याबारे पनि छलफल हुनेछ। सन् १९६० को दशकमा भएको सीमा सन्धि र प्रोटोकल अनुसार संयुक्त सीमा अनुगमन अघि बढाउने सहमति दुई देशबीच भइसकेको छ । नेपाल र चीनबीच गत महिना आयोजित सहसचिवस्तरीय सीमा संयन्त्रको बैठकमा उक्त सहमति भएको थियो ।

त्यसैगरी सीमा नाका सहज बनाउने विषयमा पनि छलफल हुने भएको छ। मन्त्री खड्काको चीन भ्रमणमा चीनले अघि सारेको बेल्ट एन्ड रोड अवधारणाको फ्रेमवर्कभित्र रहेर कुनै पनि सम्झौता भने हुने छैन ।

मन्त्री खड्काको ३ सचिवसहित १० सदस्यीय भ्रमण टोलीमा परराष्ट्र, अर्थ, गृह, वाणिज्य र भौतिक योजना मन्त्रालयका कर्मचारी रहनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *