Main News

हिउँको पृथ्वीयात्रा: प्रकृतिको संरक्षण गरेर मानव र जीवजन्तुको अस्तित्व जोगाउनु पर्ने सन्देश (भिडियो रिपोर्टसहित)

२०७९ साउन २१ गते २०:५९
हिउँको पृथ्वीयात्रा: प्रकृतिको संरक्षण गरेर मानव र जीवजन्तुको अस्तित्व जोगाउनु पर्ने सन्देश (भिडियो रिपोर्टसहित)

२१ साउन २०७९ काठमाडौं । पछिल्लो समय जलवायु परिवर्तन र प्राकृतिक स्रोत दोहनका कारण मानव जीवन नै संकटमा परेको छ । विकास निर्माण र मानव जीवनलाई सहज बनाउने नाममा भैरहेको प्रकृतिको दोहनले अन्य जीवजन्तुको अस्तित्व पनि नामेट हुँदैछ ।

प्रकृतिको संरक्षण गरेर मानव र जीवजन्तुको अस्तित्व जोगाउनुपर्ने सन्देशहितको नाटक ‘हिउँको पृथ्वी यात्रा’ को काठमाडौंमा आज अन्तिम शो प्रदर्शन गरिएको छ ।

काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा प्रस्तुत ‘हिउँको पृथ्वी यात्रा’ नामक नाटकको दृश्य हो, यो । मानवदोहनबाट प्रकृतिमा पर्ने असर र यसले मानव जीवनमा ल्याउने कठिनाइ नाटकमा देखाइएको छ । जलवायु परिर्वतनका कारण भइरहेको अतिवृष्टि, खण्डवृष्टि र खडेरीले पारेको प्रभाव नाटकले चित्रण गर्न खोजेको छ ।

हिउँ पग्लेर नदी बन्ने र नदीको जीवनचक्र सकिँदासम्म अनेक दृश्यहरु देखिन्छन् । यो बीचमा मानवले नदीविरुद्ध गरिरहेका अनेकौं क्रियाकलापले सिंगो मानवजीवनलाई तहसनहस गरिरहेको छ ।

नेपाली रंगमञ्चमा प्राकृति, पर्यावरणको विषय विरलै समेटिन्छन् । त्यहाँमाथि रंगमञ्चमै नदी बगाउनु र जलचरको अभिनय मानिसले गर्नु चानचुने काम होइन । र त यो नाटक तयार गर्नका लागि झण्डै एक वर्ष समय लाग्यो ।

लेखक निर्देशकलाई मात्रै हैन कलाकारलाई पनि नाटकमा अभियन गर्नु चुनौतीपूर्ण भयो ।

सवा घण्टा लामो नाटकमा तराईको जीवनशैली र प्रकृतिसँग त्यहाँको समुदायको निर्भरतालाई देखाइएको छ । नाटकमा मानव र जनावरबीचको द्वन्द्व, मानवमा पनि उपल्लो वर्ग र सीमान्तकृतबीचको द्वन्द्व जीवन्त ढंगले देखाइएको छ । नाटकले उपल्लो वर्गको मानवीय आवश्यकता परिपूर्तिका लागि प्राकृतिक दोहनबाट सिर्जित समस्याले मानवेत्तर जीव र सीमान्तकृत मानवको जीवनका खुसीका रङ्गहरू मेटिएको कथा भनेको छ ।

युवायुवतीको प्रेमको दृश्यले पनि नाटकमा स्थान पाएको छ । शिल्पी कला समूहले साउन १ गतेदेखि मञ्चन गरेको नाटकको काठमाडौंमा मैझारो गरिए पनि पश्चिम नेपालका विभिन्न स्थानमा प्रस्तुत गर्ने तयारी गरेको छ । घिमिरे युवराज र अमजद प्रवेजको लेखन निर्देशन् रहेको नाटकमा पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र वि.सी, ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशीला लुहार, ज्याक बरालको अभियन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *