Main News

जापान रोजगारी : संयुक्त कार्यसमिति बैठक बिहीबार

२०७९ साउन १८ गते २१:१५
जापान रोजगारी : संयुक्त कार्यसमिति बैठक बिहीबार

१८ साउन २०७९ काठमाडौं । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार नेपाली युवालाई जापानको श्रम बजार प्रवेशमा सहजीकरण गर्ने उद्देश्यले बिहीबार संयुक्त कार्यसमितिको बैठक बस्दैछ ।

काठमाडौँमा बस्ने सो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव पोखरेलको नेतृत्वमा परराष्ट्र र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सहभागी हुनेछन् । जापान सरकारका तर्फबाट त्यहाँका सहायक उपमन्त्री चोसुमो नाकागावाको नेतृत्वमा जापानी प्रतिनिधिमण्डल बैठकमा सहभागी हुने श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिनुभयो ।

बैठकले नेपाली नागरिकलाई जापानमा रोजगारी दिने सन्दर्भमा बृहत् छलफल गरी उपयुक्त निर्णयका लागि दुवै देशका सरकारलाई सिफारिस गर्ने उहाँले बताउनुभयो । संयुक्त कार्यसमितिको पहिलो बैठक सन् २०२० को नोभेम्बरमा भर्चुअल माध्यमबाट बसेको थियो । पहिलो बैठकको सहमतिअनुसार जापानमा केयरगिभर, कृषि, निर्माण क्षेत्र र रेष्टुरेन्टमा करिब ८५० नेपालीले रोजगारी प्राप्त गरेका छन् ।

सन् २०१९ मा नेपाल र जापानबीच ‘स्पेसिफाइड स्किल वर्कर’ (एसएसडब्लु) प्रणालीअन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी श्रम समझदारी भएको थियो । सो प्रणालीअन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा नेपालीले रोजगारी पाउने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *