Main News

मूल्यवृद्धि नियन्त्रण गर्न नसक्ने विभागको लाचार जवाफ (भिडियो रिपोर्टसहित)

२०७९ साउन १७ गते २१:११
मूल्यवृद्धि नियन्त्रण गर्न नसक्ने विभागको लाचार जवाफ (भिडियो रिपोर्टसहित)

१७ साउन २०७९ काठमाडौं । बजारमा उपभोक्ताको ढाड सेक्नेगरी अधिकांश खाद्य वस्तुको मूल्य दिन प्रतिदिन बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिको बाहनामा व्यापारीले उपभोक्ताको माग हेरेर वस्तुको मूल्य बढाइरहेका छन् । यता नियमनकारी निकाय भने मूल्यवृद्धि आफ्नो नियन्त्रण बाहिर रहेको गैरजिम्मेवार जवाफ दिएर बसेको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार उपभोग्य वस्तुमा गत वर्षभन्दा अहिले दोब्बरले मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष ४ दशवमलव १९ प्रतिशत रहेको मूल्यवृद्धि अहिले ८ दशमलव ५६ प्रतिशत पुगेको छ । नेपालीको चाडपर्व शुरु भएसँगै अझै महँगी बढ्ने अनुमान गरिएको छ ।

राष्ट्र बैंकले दशैंसम्ममा मात्र १३ प्रतिशतले मूल्य बढ्ने प्रक्षेपण गरेको छ । बजारमा धेरैजसो खाद्यान्नको मूल्य हरेक दिन बढिरहेको मात्रै छैन मूल्यमा पनि एकरुपता छैन् । जसले जतिसुकैमा पनि उपभोग्य सामग्री विक्री गर्ने गरेका छन् । जस्तै चिनीको मूल्य कतै एक सय रुपैयाँ प्रतिकेजी रहँदा कतै एक सय दश रुपैयाँमा विक्री हुने गरेको छ । दाल, चामल जस्ता खाद्यान्नको पनि अवस्था उस्तै छ । तर, बजार अनुगमनको जिम्मेवारी बोकेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग भने महँगी आफ्नो नियन्त्रणभन्दा बाहिर रहेको लाचार र गैरजिम्मेवार जवाफ दिन्छ ।

नियामक निकायहरु यसरी मूल्य नियन्त्रण गर्न नसक्ने बताउन लाज मान्दैनन् । सरकारसँग बजारलाई हस्तक्षेप गर्ने संयन्त्र कमजोर हुँदा विभिन्न बाहनामा मूल्य बढाउने काम भइरहेको उपभोक्ता अधिकारीकर्मी बताउछन् ।

अबको दुई महिनामा दशैं, तिहार जस्ता महत्वपूर्ण पर्वहरु आउँदैछन । चाडपर्वको मौकालाई व्यवसायीहरुले कुरेर बसेका छन् । यही मौकामा कालोबजारीलाई प्रश्रय दिने गरिएको छ । आकाशिएको बजार मूल्य नियन्त्रणका लागि अनुगमन गरी उपभोक्तालाई राहत दिनु सरकारको दायित्व हो । तर, आफ्नो दायित्व पुरा गर्न सरकार उदासिन बनेको छ ।

सरकारी निकायले बजारमा हस्तक्षेप गर्न नसक्दा बजार छाडा भएको छ । यसकारण उपभोक्ता महँगो मूल्य तिरेर आवश्यक सामान किन्न बाध्य छन् । आम नागरिकले सरकार भएको अनुभूति नै गर्न पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *