Main News

हर्क साम्पाङको सक्रियता, प्रशंसादेखि आलोचनासम्म (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन १७ गते २०:३०
हर्क साम्पाङको सक्रियता, प्रशंसादेखि आलोचनासम्म (भिडियो रिपोर्टसहित)

१७ साउन २०७९ सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ दिनहुँ प्रशासनिक कामसँगै नागरिकको समस्या समाधानमा लागिरहनु भएको छ । धराने जनतालाई पानीको समस्या हुन नदिन आसपासका खोलाबाट पानी ल्याउन प्रयत्न गरिरहनुभएको छ । सरकारी सवारी प्रयोग नगर्ने र आफ्ना लागि सवारी किन्ने रकमले रोलर किन्ने, खोलाजन्य सामग्रीको उत्खनन् रोक्नेलगायतका कामको प्रशंसा पनि भएको छ । तर, उहाँ आलोचनामुक्त भने हुनुहुन्न ।

मेयर बन्नु पूर्व हर्क साम्पाङ सबैभन्दा धेरै बोलेको विषय हो, खानेपानीको समस्या । त्यही मुद्दाले उहाँलाई धरान उपमहानगरपालिकाको मेयर बनायो । मेयर बनेसँगै धरान आसपासका खोलाबाट खानेपानी ल्याएर तत्काल समस्या कम गर्ने र दीर्घकालिन योजनाको रुपमा सप्तकोशीको पानी ल्याउने योजनामा काम गरिरहनुभएको छ । मेयर साङपाङ तत्काल खानेपानी समस्या समाधान गर्न पकुवा खोला र निसाने खोलाबाट पानी ल्याउन प्रयत्नशील हुनुहुन्छ ।

खानेपानीको मुहान संरक्षण गर्नका लागि सर्दु जलाधार क्षेत्र, वमधारा खानेपानी मुहानको संरक्षण गर्न वरपर वृक्षारोपणको काम गर्नुभयो । गरेको हरेक काममा धरानवासीले उहाँलाई साथ दिइरहेका छन्। साम्पाङले धरानमा पोखरी बनाएर पानी जम्मा गर्ने र फागुन चैतमा हुने खानेपानीको समस्या समाधान गर्ने योजनामा काम गरिरहनुभएको छ ।

उहाँ निर्वाचित भएपछि सुविधाको सवारी प्रयोग नगर्ने र आफूले चढ्ने मोटर विक्री गरेर रोलर किन्ने घोषणा गर्नुभयो । संभावित प्राकृतिक प्रकोप रोक्न खोलाजन्य सामग्रीको अत्यधिक उत्खनन् रोकेर धरानको विकासका लागि आवश्यक सामग्री मात्र उत्खनन् गर्ने निर्णय गर्नुभयो । निजी विद्यालयको शुल्क र सुविधाको विषयमा अनुगमन, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार, धरानको सफाई जस्ता कार्यमा आफू पनि लाग्नुभयो र जनतालाई पनि उत्प्रेरित गर्नुभयो ।

वृक्षारोपण र सरसफाई कार्यक्रम आजभोलि पनि नियमित हुने गर्दछ । जहाँ मेयर पनि सहभागी हुन पुग्नुहुन्छ । धेरै पालिकाका जननिर्वाचित प्रतिनिधिहरु आफ्नालाई नियुक्त गर्ने, कार्यकर्ता पोस्नेगरी बजेट वितरण गर्ने तथा व्यक्तिगत र राजनीतिक फाइदाका लागि काम गरिरहँदा साम्पाङ भने आफ्नो प्रतिबद्धता पुरा गर्न दौडिरहनुभएको छ । तर, पनि सहकारी पीडितको समस्या समाधान गर्न नसकेको, खानेपानी समस्या समाधान गर्न मात्र केन्द्रित भएको भन्दै उहाँको आलोचना पनि हुँदै आएको छ ।

नगरवासीको हितमा काम गर्ने पहल थालेका साम्पाङको कतिपय प्रयासहरू सकारात्मक भएपनि नगरका विविध समस्या समाधानमा उदासिन बन्नहुँदैन । समग्र नगरको हितमा विशेष योजनासहित अघि बढ्न आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *