देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको सांसद रावलको दाबी

१७ साउन २०७९ काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले देशलाई निर्दलीय अभ्यासतिर धकेलिएको बताउनुभएको छ ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले नेपालको संविधानको धारा २६९ ले समान विचारधारा, दर्शन, कार्यक्रम भएका व्यक्तिहरु एउटा राजनीतिक दलमा आवद्ध हुनेछन्, त्यस्तो दलले यही कुरा निर्वाचन आयोगमा दर्ता गर्नुपर्ने लेखिएपनि यसको खुलेआम उल्लंघन भइरहेको बताउनुभयो ।
उहाँले कुनैपनि सार्वजनिक पद धारण गर्ने, शपथ लिनुपर्ने व्यक्तिले आफ्नो जिम्मेवारी वहन गर्दा प्रचलित कानून पालना गरी, मुलुक र जनताको भलो चिताइ, कसैको डर नमानि पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिइ इमान्दारिताका साथ गर्नेछु भन्नेकुरा लेखिएपनि देशमा अहिले विदेशीसँग थर्कमान भइ, डरमानी, संविधान मिचि, उल्लंघन गरी मनपरी गर्नेछु भन्नेजस्तो चरित्र देखिन थालेको बताउनु भयो ।
सांसद रावलले शपथ लिइसकेपछि यसलाई कानूनी रुपमा अनिवार्य पालना गर्नुपर्ने, नगरेमा कारबाही गर्ने प्रावधान राख्न माग गर्नुभयो । सरकारले बिना कुनै हिच्किचाहट माथिल्लो कर्णालीमा जियामार कम्पनीसँग गरिएको सम्झौताको ठाडो उल्लंघन गरेको आरोप लगाउनु भयो ।
प्रतिक्रिया