पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु, तीन जना बेपत्ता
१७ साउन २०७९ म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा आज बिहान पहिराले घर बगाउँदा दुुई जनाको मत्यु र तीन जना बेपत्ता भएका छन् ।
घामबहादुर विक र गोठे विकको घर पहिराले पुरिएको हो । घटनास्थलमा रहनुभएका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ ।
गोठे र उहाँकी श्रीमती गोरी विक पहिरामा परेर घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिनुभयो । घटनास्थल तामिङगाउँ रुमको फेदीमा पर्छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट करिब तीन घण्टा पैदलयात्रापछि घटनास्थलमा पुग्न सकिन्छ ।
प्रतिक्रिया