Main News

तार्केश्वर घटना : हत्या गरेर आत्महत्या गरेको आशंका, माइती पक्षका कारण शव उठाउन ढिलाइ

हिमालय टिभी
२०७९ साउन १६ गते १७:०३
तार्केश्वर घटना : हत्या गरेर आत्महत्या गरेको आशंका, माइती पक्षका कारण शव उठाउन ढिलाइ

१६ साउन २०७९ काठमाडौं । काठमडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव उठाउन ढिलाइ भएको छ ।

मृतक सुनिता काप्री पाण्डेका माइती पक्षले घटनाको निश्पक्ष छानबिनको माग गर्दैै शव उठाउन अवरोध गरेपछि ढिलाइ भएको हो । प्रहरीले शव उठाउने प्रयास गरिरहेको छ । तर, सुनिताका माइती पक्षले घटनामा सुनिताका पति दिनेश पाण्डेका आफन्तले प्रभावित पार्न खोजेको आरोप लगाउँदै छानबिनको माग गरेको छ ।

माइती पक्षले दिनेश र सुनिताबीच विवाद बढ्दै जाँदा सम्बन्धविच्छेदसम्मको कुरा भएको बताएका छन् । दिनेशको सम्बन्ध विच्छेदको प्रस्ताव सुनिताले अस्वीकार गरेको र उनी बेलायत जाने तयारीमा रहेपछि परिवारमा विवाद बढेको थियो । आज बिहान दिनेश, सुनितासँगै छोरा आशिक र आशिका पनि मृत भेटिएका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले दिनेशले पत्नी, छोरा र छोरीको हत्या गरेर आत्महत्या गरेको देखाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विज्ञको टोलीले मृतकहरुको शरिरमा धारिलो हतियार प्रहार भएको पुष्टि गरेको छ ।

घटनास्थलबाट चक्कु पनि फेला परेको थियो। आज बिहान प्रहरी र स्थानीय ढोका फोरेर घरभित्र प्रवेश गर्दा दिनेश झुण्डिएको अवस्थामा फेला परेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *