गाउँपालिका कार्यालयमा तालाबन्दी, मर्कामा सेवाग्राही (भिडियो रिपोर्टसहित)

२०७९ साउन १५ गते १४:४३
गाउँपालिका कार्यालयमा तालाबन्दी, मर्कामा सेवाग्राही  (भिडियो रिपोर्टसहित)

१५ साउन २०७९ रुपन्देही । रुपन्देहीको गैडहवा गाउँपालिका कार्यालयमा १३ दिनदेखि तालाबन्दी छ । गाउँपालिकामा अनियमितता भएको भन्दै जनप्रतिनिधिले नै कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही भने मर्कामा परेका छन् ।

विष्णुपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकिशोर आलक रुपन्देहीको गैडहवा गाउँपालिकाको कार्यालय धाउन थालेको एक साता भयो । विद्यालयको काम लिएर गाउँपालिकाको कार्यालय धाएका आलकको काम अझै सकिएको छैन । कारण कार्यालयमा न त जनप्रतिनिधि हुन्छन् न त कर्मचारी नै । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखामा ताला लागेको छ भने अरु शाखा पनि बन्द छन ।

साउन २ गते नेपाली कांग्रेस, जनमत पार्टी र स्वतन्त्रबाट निर्वाचित जनप्रतिनिधिले अनियमितताको आरोप लगाउँदै गाउँपालिकामा तालाबन्दी गरेका हुन् । वडा नम्बर ६ को राजस्व संकलनमा अनियमितता भएको, किसानलाई क्षतिपूर्ति नदिएको, प्रमुख प्रशासकीय अधिकृतले दोहोरो सुविधा लिएको, कार्यापालिकाको निर्णयबिना करार कर्मचारी हटाएको तालाबन्दी गर्ने समूहको आरोप छ ।

वडा नम्बर ६ मा संकलन भएको राजस्व ११ महिनासम्म बैंकमा जम्मा नभएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल स्वीकार गर्नुहुन्छ । गाउँपालिकाले ११ महिनाको राजस्व बैंकमा जम्मा गर्न लगाएर कर्मचारीलाई स्पष्टीकरण सोधेर माफी दिएको छ । प्रमुख प्रशासकीय अधिकृतलाई रातो किताबमा उल्लेख भए अनुसार नै सुविधा दिएको पौडेलको भनाइ छ ।

कर्मचारी कार्यालयमा आएर हाजिर गरेर फर्किने गरेका छन् । कार्यालय सुनसान छ । गल्ती गर्ने कर्मचारीलाई गाउँपालिकाले साधारण स्पष्टीकरण सोधेर ढाकछोप गर्नु र निर्वाचित भएका जनप्रतिनिधिले १३ दिनसम्म जनताको काम नगर्नु दुबै गलत भएको सेवाग्राही बताउँछन् ।

छानबिन गरी सत्यतथ्य पत्ता लगाएर गल्ती गर्ने कर्मचारीलाई कारवाही गर्नु र दोहोरो सुविधा लिएको आरोप लागेका प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवार बनेर जवाफ दिनु पर्दछ । यो प्रक्रियामा जाँदै गर्दा तालाबन्दी गरेर जनताले पाउने सेवा रोक्नु भने उचित देखिँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *