Main News

ओलीका अनेक रुप, राजनीतिसँगै खेल र मनोरञ्जन (भिडियो रिपोर्टसहित)

२०७९ साउन १४ गते २०:५२
ओलीका अनेक रुप, राजनीतिसँगै खेल र मनोरञ्जन (भिडियो रिपोर्टसहित)

१४ साउन २०७९ काठमाडौं । राजनीतिक नेतृत्वको दैनिकी भाषण गर्ने, पार्टी तथा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी हुने हो । यसका अलवा भेटघाट संवाद पनि नेतृत्वको नियमित काममै पर्छ । तर नेकपा एमालेका अध्यक्ष एवंम पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने समकालीन नेताभन्दा अलि फरक हुनुहुन्छ । घण्टौं भाषण गर्न सक्ने ओली खेलकुद देखि साहित्य र कलामा पनि उत्तिकै सौखिन हुनुहुन्छ ।

राजनीतिक दलका एक नेताको काम के हुन सक्छ रु पक्कै पनि राजनीतिक भाषण, छलफल, बैठक वा देशका विद्यमान परिस्थितिका विषयमा विचार दिनु । तर, हिजो–आज एमाले अध्यक्ष केपी शर्मा ओली यी बाहेकका अतिरिक्त क्रियाकलापले चर्चामा हुनुहुन्छ ।

गत बिहीबार मात्र ओली व्याडमिन्टन खेलका कारण चर्चामा आउनुभयो । उहाँकै गृहजिल्ला झापाको विर्तामोडको एक व्याडमिन्टन कोर्टमा खेल्दै गरेको तस्वीर र भिडियोले सामाजिक सञ्जाल ततायो ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने पालिकाहरुका अगुवा नेता कार्यकर्तासँग भेटघाट र अन्तरक्रियाका लागि झापा पुगेका ओलीको भाषणभन्दा खेलले बढी चर्चा पायो । त्यति मात्र होइन, युवा माझ लोकप्रिय रहेको स्नुकर खेल खेल्न पनि ओली पछि पर्नुभएन ।

उसो त ओली आफ्नो भाषण, वाकपटुताका कारण पनि चर्चामा आइरहनु भएकै छ । धेरैजसो व्यंग्यात्मक र उखान टुक्का हालेर भाषण गर्न माहिर ओली कहिलेकाहीँ हाँस्य कलाकार झैं देखिनुहुन्छ ।

भाषणबाहेक ओलीका धेरै अतिरिक्त क्रियाकलापहरु चर्चामा रहने गरेका छन् । केही दिन अघि मात्रै भक्तपुरको बालकोटबाट ललितपुरको च्यासलमा रहेको पार्टी कार्यालय विद्युतीय माइक्रोबसमा चढेर पुग्दा पनि उहाँको चर्चा उस्तै रह्यो । सगरमाथा आरोही युगान्तिका तामाङलाई विद्युतीय स्कुटर हस्तान्तरणका लागि बालकोटमा आयोजित समारोहपछि ओली माइक्रोबस चढेरै पार्टी कार्यालय पुगेको खबरले पनि प्राथमिकता पाएको थियो ।

यी केही प्रतिनिधि उदाहरण मात्रै हुन् , एमाले अध्यक्ष ओली विभिन्न पृथक काम गर्न रुची राख्नुहुन्छ । २ हजार ७४ साल चैतमा उद्योग वाणिज्य महासंघकी तत्कालीन अध्यक्ष भवानी राणाको चित्र कोरेका ओलीले केही समय अघि पनि एउटा चित्र बनाएर चर्चामा आउनु भएको थियो । प्रधानमन्त्री रहेका बेला बालुवाटारमै आयोजित सांगीतिक कार्यक्रममा बाँसुरी र सांरगी बजाएर चर्चामा आउनु भएको थियो ।

कोरोना महामारीले देश आक्रान्त भएको समयमा देशको प्रधानमन्त्री ओली भने संगीतको आनन्द लिएर बसेको भन्दै आलोचना पनि भएको थियो । त्यस्तै ओली कहिलेकाहीँ कविता, मुक्तक पनि लेख्ने गर्नु हुन्छ ।

गीत–संगीत मात्र होइन, उहाँ कविता पनि लेख्नुहुन्छ । २ हजार ७५ साल असार ३१ गते चन्द्रागिरिमा पुग्दा उहाँले एउटा कविता लेख्नु भएको थियो । बिना शीर्षकको कविताको अन्तिममा उहाँले म मरेपनि केही छैन् , त्यसपछि पनि सपना देख्न पाउँ भन्दै कविता टुंगाउनु भएको थियो ।

त्यस्तै दुई वर्षअघि पनि भक्तपुरको मध्यपुर थिमिमा माटाको पाला बनाउन अग्रसर हुनु भएको थियो । उहाँले पाला बनाउने उपकरणको सहयोगमा पाला बनाउनु भएको थियो ।

अनेक काम र प्रतिभाका कारण चर्चामा आउने ओली टेबुल टेनिस पनि खेल्नुहुन्छ । कुनै नयाँ मौका पाउना साथ अनुभव गरिहाल्ने र आफू केही कुरामा पनि कम छैन् भन्ने सन्देश दिन पनि ओलीले अनेक काम गर्ने गरेको कतिपयको बुझाइ छ ।

ओली दुईदुई पटक नेपालको प्रधानमन्त्री मात्रै बन्नु भएको छैन् दुई पटक नै मृर्गौला प्रत्यारोपण गराउनु भएको छ । यसको अर्थ उहाँको स्वास्थ्य आफैंमा संवेदनशील छ । तर ओलीको सक्रियतालाई हेर्ने हो भने उहाँ स्वस्थ व्यक्तिभन्दा कमजोर देखिनु हुन्न । ओलीको सक्रियतालाई सकारात्मक सन्देशकै रुपमा लिनु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *