हाट बजारले पशुचौपाया बेच्न किसानलाई यस्तो सहज (भिडियो रिपोर्टसहित)

२०७९ साउन १२ गते १६:०४
हाट बजारले पशुचौपाया बेच्न किसानलाई यस्तो सहज (भिडियो रिपोर्टसहित)

१२ साउन २०७९ रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकामा प्रत्येक साता आइतबार हाट बजार लाग्छ । हाट बजार भन्ने बितिक्कै तरकारी, खाद्यान्न र लत्ताकपडा किन्ने मेला भनेर हामी बुझ्छौं । तर, सियारीमा लाग्ने हाट बजारमा पशु चौपाया किनबेच हुन्छ ।

रुपन्देहीको मायादेवी गाउँपालिका ३ वरेवाका दिपचन्द यादवले काली भैंसी बेच्दै हुनुहुन्छ । साथमा १० दिनको पाडो पनि डोराउँदै हुनुहुन्छ, भैंसीको मूल्य २ लाख २५ हजार हो । दैनिक १२ लिटर दुध दिने गरेको ग्राहकलाई बताउँदै हुनुहुन्छ । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर २ मा पशु हाट बजार संचालनमा आएसँगै यहाँ पशु चौपाया किन्ने बेच्नेको भिड लाग्छ ।

कपिलवस्तुबाट आएका रामनयन यादव भैंसी दुहुँदै हुनुहुन्छ । भैंसीमा थुनेलोको समस्या छ कि छैन भनेर दुध दुहुनु भएको हो । उहाँ भैंसी व्यापारी हो । हाट बजारमा किनेको भैंसी यादवले कपिलवस्तुमा लगेर बेच्नुहुन्छ ।

सियारी गाउँपालिकामा संचालन भएको पशु हाट बजारमा पशु चिकित्सकको पनि व्यवस्था गरिएको छ । जहाँ किसानले ल्याएका पशु चौपायाको निःशुल्क उपचार हुन्छ । स्वस्थ्य पशु भए मात्र यहाँबाट किनबेचका लागि अनुमति दिइन्छ ।

निःशुल्क विशेषज्ञ चिकित्सकीय सेवासँगै पशु चौपाया विक्री गर्दा उचित मूल्य पाइने र सहजरुपमा विक्री गर्ने वातावरण भएकाले पशुपालक किसान खुसी छन् ।

विश्व बैंकको पाँच करोड ऋण अनुदानमा हाटबजार तयार भएको हो । किसानलाई गाईभैँसीको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यका साथ नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले हाटबजार निर्माण गरेको हो ।

दुई विघा क्षेत्रमा फैलिएको हाट बजारमा एक हजार पशु चौपाया अटाउने क्षमता छ । हाट बजारमा पशुको स्वास्थ्य जाँच, चौपायाको खरिद विक्री र दानापानी खुवाउने व्यवस्था गरिएको छ ।

गाई भैँसी विक्री नभए केही दिनलाई होल्डिङ सेन्टरमा राख्न सकिन्छ । किसान तथा व्यापारीलाई खाजा, खाना र आराम गर्ने स्थल पनि छ । पशु हाट बजारमा प्राविधिक र व्यवस्थापकीय सेवा गाउँपालिकाले गरिरहेको छ । हाटबजार व्यवस्थापनका लागि खरिदकर्ताबाट गाउँपालिकाले तीन सय रुपैँया शुल्क लिने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *