Main News

काभ्रेका नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

२०७९ साउन १२ गते ८:११
काभ्रेका नौ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

१२ साउन २०७९ काभ्रेपलाञ्चोक । जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।

करिब महिनाअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रोसाता पाँचखालमा भेटिएका डेङ्गु सङ्क्रमित जिल्ला बाहिरका हुन् । ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेङ्गु रोगको सङ्क्रमण भेटिएको थियो । पाँखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

कार्यालयप्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो । “करिब एक महिनाको अवधिमा नौ जनामा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ, हामी रोगको स्रोतको सर्च एण्ड डिस्ट्रोय गर्ने अभियानमा छौँ”, सेढाईंले भन्नुभयो ।

सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन् । यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ । काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताउनुभयो ।

यसैबीच जिल्ला स्वास्थ्य कार्यालय र नगरका स्वास्थ्य टिमले डेङ्गु सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गरिरहेको छ । साथै, सङ्क्रमितलाई निगरानीमा राखी उपचार तथा अन्य गतिविध बढाइएको कार्यालयले जनाएको छ । “सदरमुकाम धुलिखेललगायतको स्थानका डेङ्गु सङ्क्रमणको केसमा निकै गम्भीरतापूर्वक अनुसन्धान पनि गरिरहेका छौँ”, सेढाईंले भन्नुभयो ।

लामो समयपछि पाँचखालमा पहिलो डेङ्गुको सङ्क्रमण देखिएलगत्तै यसका लक्षण तथा बच्ने उपायबारे प्रचारप्रसारमा लागिएको तथा स्वास्थ्यकर्मीलाई ‘हाई अलर्ट’मा बस्न भनिएको छ । डेङ्गुको सङ्क्रमणले महामारीको रुप नलियोस् भन्ने उद्देश्यले काभ्रेपलाञ्चोकको तीनै स्थानमा कार्यलयको ¥यापिड टिमले अनुगमन तथा सम्भावित परीक्षण गर्ने जनाएको छ ।

साथै, जिल्लास्थित सबै स्वास्थ्य संस्थामा डेङ्गुविरुद्धको कीटसहितको टोलीसमेत परिचालन गरिने योजना बनाइएको छ । काभ्रेपलाञ्चोकमा यसअघि २०७६ भदौमा ६ जनामा डेङ्गु सङ्क्रमण देखिएको थियो ।

एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि सात दिनसम्म ज्वरो रहने, सहन नसक्नेगरी टाउको दुख्ने, आँखाको नानी तथा पछिल्लो भाग दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने तथा वाकवाकी लाग्ने, पेट दुख्ने, नाक अथावा गिँजाबाट रगत बग्नु, शरीरमा रगत जेमेको दाग देखापर्नु तथा बेहास हुने लक्षण देखिन्छ । समयमै उचित उपचार नपाए बिरामीको मृत्युसमेत हुने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *