राजनीति

वामपन्थीहरुको उपगठबन्धनको तयारीले सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न (भिडियो रिपोर्टसहित)

२०७९ साउन ११ गते १८:१२
वामपन्थीहरुको उपगठबन्धनको तयारीले सत्ता गठबन्धनको भविष्यमाथि प्रश्न  (भिडियो रिपोर्टसहित)

११ साउन २०७९ काठमाडौं । सत्तारुढ वाम दलहरु छुट्टै उपगठबन्धनको तयारी थालेसँगै सत्ता गठबन्धनको भविष्यमाथि नै प्रश्न उठेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अग्रसरतामा समाजवादी केन्द्र बनाउने नाममा वाम गठबन्धनको कसरत भइरहँदा कांग्रेसले भने आगामी निर्वाचनमा आफुसँग सिट बाडफाँटमा बार्गेनिङ पावर बढाउने प्रयासको रुपमा लिएको छ ।

हालै सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकले प्रतिनिधिसभाको आगामी निर्वाचनपछि पाँच वर्ष स्थिर सरकार हुनेगरी दलहरुसँगको सिट बाँडफाँट गर्ने निर्णय गर्‍यो । कांग्रेस केन्द्रीय समितिको बैठकको यो निर्णयको अन्तर्य निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि आफैले लिने नै हो ।

कांग्रेस बैंठकको निर्णयले भने पाँच दलीय सत्तारुढ गठबन्धनका अन्य दलहरु झस्किए । गठबन्धनको मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि के कम ? उहाँले पनि भनिदिनु भयो – नेकपा समाजवादी केन्द्र निर्माण गर्छौं ।

प्रचण्डको भनाइ र चाहनाअनुसार नै अहिले सत्तारुढ वाम दलका बीचमा गठबन्धन बनाउने प्रयास भैरहेको छ । त्यसका लागि माओवादी, नेकपा एकीकृत समाजवादी, जसपाबाट अलग भएको बाबुराम भट्टराई पक्ष र राष्ट्रिय सभामा सदस्य रहेका वामदेव गौतमसम्मको उपस्थितिमा वाम गठबन्धनका लागि निरन्तर छलफल चलिरहेको छ ।

यो छलफल र चहलपहललाई आगामी निर्वाचनमा कांग्रेससँग बार्गेनिङ पावर बढाउने कसरतका रुपमा हेरिएको छ । भारत भ्रमणबाट फर्किलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न नसक्ने दाबी गर्नुको पछिको कारण पनि यही हुन सक्ने अनुमान गरिएको छ ।

सरकारमा रहेका वामपन्थी दलहरु उपगठबन्धनको कसरतमा लागेपछि नेपाली कांग्रेसका नेताहरु भने सशंकित छन् । बुधबार वीरगञ्जमा नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कांग्रेससँग बार्गेनिङका लागि वाम गठबन्धनको चर्चा गर्न लागिएको आरोप लगाउनुभयो । माओवादी केन्द्रले भनेकै आधारमा आगामी निर्वाचनमा सिट बाँडफाँड नहुने नेता कोइरालाको स्पष्टोक्ति छ ।

एकीकृत समाजवादीका उपमहासचिव डाक्टर गंगालाल तुलाधरले भने सत्तागठबन्धनमा आवद्ध वाम दल एक ठाउँमा उभिँदा कांग्रेस सशंकित हुन आवश्यक नरहेको बताउनु हुन्छ । बरु गठबन्धनमा रहेका वामपन्थी दल एउटै निर्वाचन चिन्हमा चुनाव लडे कांग्रेसलाई पनि सहज हुने तुलाधरको भनाइ छ ।

निर्वाचनअघि नै सत्तारुढ दलभित्र छुट्टै गठबन्धन बनाउन कति सम्भव छ त ? विचार मिल्ने दलहरु नै भएकाले तुलनात्मक रुपमा छुट्टै वामपन्थी गठबन्धन सम्भव रहेको विश्लेषकको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चाहना र स्वार्थमा सुरु भएको वाम गठबन्धन बन्यो भने पनि नेपाली कांग्रेससँग बार्गेनिङ गर्न सजिलो नहुने कुरा त एमसीसी प्रकरणमै देखिसकिएको छ ।

त्यतिबेला एमसीसी पास भएमा सरकार छाड्नेसम्मको धम्की दिएका माओवादी केन्द्र र एकीकृत समाजवादी पछि बाध्य भएर बाध्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्न सहमत भएका थिए । यतिबेला वाम गठबन्धनको चर्चा गराएर सिट बाँडफाँडमा बार्गेनिङ गरिहाले पनि गठबन्धनकै सम्भावना भने न्यून देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्