Main News

इतिहास बोकेका धरोहरको बेहाल, सरकारलाई छैन संरक्षणको चिन्ता (भिडियो रिपोर्टसहित)

२०७९ साउन १० गते १३:३९
इतिहास बोकेका धरोहरको बेहाल, सरकारलाई छैन संरक्षणको चिन्ता (भिडियो रिपोर्टसहित)

१० साउन २०७९ काठमाडौं । नेपालमा १०३ वर्षसम्म शासन गरेका राणाहरुको युग २००७ सालको क्रान्तिले अन्त्य गर्‍यो । अहिले राणा शासकले प्रयोग गरेका संरचना नेपाल सरकारको सम्पत्तिका रुपमा छन् ।

ठूलाठूला सरकारी कार्यालय सञ्चालन गरिएका यी राणाकालीन दरबारको हालको अवस्था भने दयनीय छ । भूकम्पले गरेको क्षति र सरकारी बेवास्ताले इतिहास बताउने यी धरोहर मासिने अवस्थामा छन् ।

हरिहर भवन
यो भवन चन्द्र शम्शेरका छोरा शंकर शम्शेरले बनाएका हुन् । उनी १९८६ सालदेखि यो भवनमा बस्न शुरू गरेका थिए । हरिहरको मूर्ति राखिएको हुँदा यो भवनको नाम हरिहर भवन राखिएको हो ।

शंकर शम्शेर बेलायतमा नेपालको राजदूत भएर गए र उतै बसे । त्यसपछि सरकारले हरिहर भवनसहित शंकर शम्शेरको सबै सम्पत्ति राष्ट्रियकरण गर्‍यो । कृषि मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगलाई लामो समय ओत दिने यो भवन २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि प्रयोगविहीन छ ।

आनन्द निकेतन भवन
हामी अहिले आनन्द निकेतनमा छौं । आनन्द निकेतन हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत ईञ्जिनियरिङ अध्ययन संस्थान छ । वीर शम्शेरले आफ्नी रानी र आफ्नो प्रयोगका लागि बनाएको दरबार हो यो ।

नवशास्त्रीय वास्तुकला र युरोपेली शैलीमा बनेको यो संरचना वर्षौको घामपानी र प्राकृतिक प्रकोपसँग जुध्दै नेपालको इतिहास वर्णन गरिरहेको छ । सय वर्षदेखि शानले उभिएका यी धरोहर आज सरकारी स्वामित्वमै भए पनि संरक्षण अभावमा जीर्ण छ ।

श्री दरबार
श्री दरबार पनि राणाकालीन दरबारमध्येको एक हो । श्री दरबार वि.सं १८८४ मा चन्द्र शम्शेर जबराले आफ्नी कान्छी रानी बालकुमारी देवी, छोरा जनरल मदन शम्शेर र विष्णु शम्शेरका लागि निर्माण गरेका थिए ।

त्यसपछि राणा परिवारका विभिन्न पुस्ताले प्रयोग गरेको यो दरबारमा अहिले विभिन्न सरकारी कार्यालय छन । करिब २०० वर्षको इतिहास बयान गर्ने श्री दरबार २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि पुनर्निर्माणको पर्खाइमा छ ।

बाग दरबार
हाल काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको यो दरबार १८० वर्षे लामो इतिहासको साक्षी हो । अमरसिंह थापा (सानुकाजी) र भीमसेन थापाको निवास रहेको बागदरबारस्थित यो दरबार पछिल्लो समय सरकारी स्वामित्वमा छ । १९९० को भूकम्पमा क्षति पुगेपछि जुद्ध शम्शेरले पुनर्निर्माण गराए ।

यसको अवस्था पनि अन्य राणाकालीन दरबारको जस्तै छ । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुनर्निर्माण गर्ने उल्लेख गरेको छ । पछिल्लो समय पुनर्निर्माण गर्ने वा भत्काउने भन्ने विवादबीच यो दरबारले पुरानै स्वरुप पाउने आशा गरिएको छ ।

खाद्यान्न वितरण कार्यालय
२००७ सालमा बनेको यो खाद्यान्न कार्यालय, तत्कालीन समयमा देश तथा विदेशबाट धान संकलनका लागि प्रयोग हुन्थ्यो । हाल यसभित्रका अधिकांश गोदाम प्रयोगमा छैनन् ।

केशर महल
उपत्यकाभित्रका राणाकालीन दरबारका यी कारुणिक अवस्था बयान गरिरहँदा केशर महल आइपुगेपछि हामीले केही सम्भावनाको चहकिलाे चित्र देख्यौं । केशर महल पुनर्निर्माणको काम ७० प्रतिशत सम्पन्न भएको निर्माण कम्पनीले जानकारी दिएको छ । वीर शम्शेरले जीत शम्शेरका लागि बनाएको दरबारलाई चन्द्र शम्शेरले वि.स १९६५ सालमा किनेर आफ्नो छोरा केशर शम्शेरलाई दिएपछि यो दरबारको नाम केशर महल रहन गयो ।

एसियाकै ठूलो निजी पुस्तकालय केशर पुस्तकालयमा करीब ३६ हजार जति पुस्तक राखिएका थिए। केशर शम्शेरकै इच्छानुसार उनको मृत्युपछि उनकी कान्छी पत्नी कृष्णचन्द्रदेवी राणाले केशर पुस्तकालय नेपाल सरकारलाई २०२६ सालमा हस्तान्तरण गरेकी थिइन् ।

राणाकालीन समयमा बनेका यी र यस्ता अन्य थुप्रै दरबार भग्नावशेषमा परिणत भइसकेका छन् । कति दरबारलाई होटलको स्वरुप दिइएको छ त कति अझै चिरिएका भित्ता लिएर जीर्ण अवस्थामा उभिएका छन् । थापाथलीको सिंह महल, जावलाखेल दरबार, महांकाल, सेताे दरबार लाजिम्पाट, बालमन्दिर भनेर चिनिने सीता महल नक्साल, त्रिचन्द्र कलेज यी सबै त्यही पूरानो अस्तित्वमा नयाँ युग हेर्न आँतुर छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *