Main News

सांसदहरु हाजिर गर्दै टाप कस्दै, सभामुखलाई घण्टी बजाउँदैको हैरान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ८ गते २०:५७
सांसदहरु हाजिर गर्दै टाप कस्दै, सभामुखलाई घण्टी बजाउँदैको हैरान (भिडियो रिपोर्टसहित)

८ साउन २०७९ काठमाडौं । जनताको आवाज सरकारलाई सुनाउने र जनभावना अनुसार कानून निर्माण र समृद्धिको योजना बुन्ने थलो हो संसद । तर पछिल्लो समय हाजिरी लगाउने र भत्ता पचाउने उद्देश्यमा मात्रै सांसद, संसद पुग्छन् कि जनताको आवाज उठाउन भन्ने प्रश्न उठेको छ । आइताबार प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेका कारण दुई पटक स्थगित भयो ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगन गर्नुको एउटै कारण हो संसदमा गणपूरक संख्या नपुग्नु । प्रतिनिधिसभाको बैठकप्रति सांसदहरुको अरुची पुरानै रोग हो । संसदमा हाजिर गरेर सांसदहरु अन्यत्रै लाग्दा सभामुखलाई गणपूरकको चिन्ता हुने गरेको छ ।

प्रतिनिधिसभामा धमाधम विधेयकहरुमाथि छलफल गर्ने र पारित गर्ने प्रक्रिया अगाडि बढिरहेका बेला पछिल्लो समय सांसदहरु भने बैठकमै जान छाडेका छन् ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद झपट रावल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल लगायतले पटक पटक गणपुरकको विषय सदनमा उठाउने गर्नुभएको छ ।

आइतबारको पहिलो बैठकमा पनि कारागार विधेयक पारित गर्ने तयारी हुँदै गर्दा सांसद सुवालले गणपुरक संख्याको विषयमा प्रश्न उठाएपछि सांसदको संख्या गणना भयो ।

लगत्तै ३ मिनेट घण्टी बजाएर गणपुरक संख्या यकिन गर्दा नपुगेपछि बैठक १५ मिनेटका लागि स्थगित भयो। २७५ सदस्यीय प्रतिनिधिसभामा गणपुरक संख्या पुग्न एक चौथाइ अर्थात, ६९ सांसद आवश्यक पर्दछ ।

६९ जना सांसद पनि उपस्थित नहुँदा सभामुखलाई विधेयक पारित गराउन पनि हैरान हुने गरेको छ । १५ मिनेटपछि फेरि बैठक बस्यो । दोस्रो बैठकमा पनि सांसद सुवालले गणपूरक संख्या यकिन गर्न माग गर्नुभयो । अनि गणपूरक संख्या पुगेको घोषणा गर्नुभयो ।

संसद बैठकमा गणपूरक संख्या पुगेकोमा सांसदहरुले ठूलो युद्ध जिते जसरी गडगडाहट ताली पिटे ।

देशको भविश्यलाई निर्देश गर्ने कानून निर्माण गर्नुपर्ने थलोका जनप्रतिनिधिको यो हदसम्मको हेलचक्राईंले संसदीय व्यवस्थालाई नै खिल्ली उडाइरहेको भन्दै नागरिक समाजबाट सांसदहरुको आलोचना हुने गरेको छ । तर उनीहरुको बानीमा सुधार भने आउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *