Main News

संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग

२०७९ साउन ८ गते १५:२९
संरचना पुनःनिर्माण र किसानलाई क्षतिपूर्ति दिलाउन सांसदको माग

८ साउन २०७९ काठमाडौं । सांसदहरुले विगतका वर्षमा वर्षाका कारण क्षति भएका संरचना पुनःनिर्माण गर्न र सोही कारणले बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले संरचना पुनःनिर्माण र निर्माणाधीन संरचना पूरा गर्न सरकारसँग माग गरेका हुन । सांसद् सीताराम महतोले बेमौसमी वर्षाका समयमा क्षति भए पनि किसानले क्षतिपूर्ति नपाएको बताउनुभयो ।

गत वर्ष वर्षाका कारण सडक र पुल क्षति भएकामा पुल अझै बन्न नसकेको उहाँले औँल्याउनुभयो । सांसद् बिमला विश्वकर्माले बेमौसमी वर्षाका कारण बालीनालीमा क्षति भएका नागरिकले क्षतिपूर्ति पाउनुपर्ने र क्यान्सर पीडित तथा मिर्गाैलापीडितले सरकारले गरेको प्रतिबद्धताअनुसारको रकम नपाएको बताउनुभयो । सांसद हरिराज अधिकारीले चितवनलाई गोरखा जोड्ने पुल पप्पु कम्पनीले अहिलेसम्म आठ दश प्रतिशत मात्रै काम गरेकाले चाँडो सम्पन्न गर्न माग गर्नुभयो ।

सांसद सत्यनारायण खनालले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डको अवस्था जटिल बन्दै गएको भन्दै त्यसको विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । सांसद शेरबहादुर तामाङले औद्योगिक क्षेत्रको योगदान पाँच प्रतिशतभन्दा कम भएको अवस्थामा निजीकरण गरिएको उद्योगको अवस्थाको विषमया छानबिन गर्न माग गर्नुभयो ।

सांसद लालबाबु पण्डित निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्नुको कारणबारे सरकारसँग जिज्ञासा राख्नुभयो । सांसद विद्या भट्टराईले प्रारम्भिक बालविकास कक्षामा कार्यरत शिक्षक र कर्मचारी बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म काम गरे पनि उनीहरुले तोकिएको तलबसमेत नपाएको बताउनुभयो ।

सांसद वृन्दा पाण्डेले विश्वविद्यालय कतै तालाबन्दी कतै प्रश्नपत्र बाहिरनेलगायतका घटना क्रमले गर्दा अस्तव्यस्त भएको शिक्षा क्षेत्र व्यवस्थापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सांसद बिनाकुमारी श्रेष्ठले सिद्धार्थ राजमार्गमा राखिएको बुद्धमूर्ति तोडफोड भइरहेकाले गृह प्रशासनले कडा कारबाही गर्नुपर्ने औँल्याउनुभयो ।

सांसद बिनादेवी बुढाथोकीले निर्वाचनको समयमा काम नहुने भएकाले अहिले नै भूमि आयोगले स्थानीय तहले जग्गा जाँच गरेका ठाउँमा पूर्जा वितरण गर्नुपर्नेमा जोड दिनुभयो । सांसद् शान्ता चौधरीले कमैया र कमलरीको पुनःस्थापना हुनुपर्ने र यसअघि सरकार र मुक्तकमैया तथा कमलरीसँग भएको सम्झौता पालना हुनुपर्नेमा जोड दिनुभयो ।

सांसद सरिताकुमारी गिरीले उखु किसानले आफ्नो उत्पादनले बजार पाउने र रोजगारी पाउने आशामा सस्तो मूल्यमा जग्गा बेचेको भए पनि अहिले व्यवसायीले महँगो मूल्यमा बेचिरहेको बताउनुभयो । सांसद् सरवत आरा खानमले नागरिकता विधेयकका कारण गैरआवासीय नेपाली खुसी भएको र लाखौँ युवाले विगतमा नागरिकता नपाउदा दुःख पाए पनि अब त्यो समस्या हल भएको बताउनुभयो ।

सांसद् सञ्जयकुमार गौतम नेपाल भारत वाणिज्य सन्धिअनुसार दुईपक्षीय व्यापारका लागि थप पाँच नाका प्रस्ताव भएकामा बर्दियाको गुलरिया पनि एक रहेकाले सीमा नाका सञ्चालनका सरकारलाई माग गर्नुभयो । सांसद हीरा गुरुङले दण्डपीडित परिवारले विगतदेखि सपना मात्रै बाँडिएकाले अहिले समस्या समाधान गर्न ध्यान दिन माग गर्नुभयो ।

सांसद शिवमाया तुम्बाहाङफेले सङ्क्रमणकालीन न्यायलाई आफू अनुकूल नभई पीडित अनुकूल बनाउनका लागि सरकारले गरिरहेको कामबारे प्रश्न गर्नुभयो । सांसद सत्या पहाडीले ज्येष्ठ नागरिक र लक्षित वर्गका समुदायलाई घुम्ति बैङ्किङमार्फत सामाजिक सुरक्षा व्यवस्था उपलब्ध गराउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गर्नुभयो ।

सांसद समिना हुसेनले मधेश प्रदेशमा हिंसात्मक घटना बढ्दो क्रममा रहेकाले दोषीलाई कानुनी कठघरामा ल्याई कारबाहीको माग गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *