राजनीति

के सफल होला माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको प्रयास ? (भिडियो रिपोर्टसहित)

२०७९ साउन ६ गते २०:४२
के सफल होला माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको प्रयास ? (भिडियो रिपोर्टसहित)

६ साउन २०७९ काठमाडौं । सत्तागठबन्धनमा आवद्ध वामघटक दलहरुबीच छुट्टै गठबन्धनको तयारी भइरहेका बेला माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका बीचमा पार्टी एकीकरणकै प्रयास भइरहेको खुलेको छ ।

दुई दलबीचमा एकताका लागि दोस्रो तहका नेताहरु निरन्तर छलफल गरिरहेको दुवै पार्टीका नेताहरुले स्वीकार गरेका छन् । हिजो नेकपाकालदेखि नै आफूहरु एक ठाउँमा रहेकाले प्राविधिक कारण मात्रै अहिले फरकफरक दलमा रहेकाले पुन एकै ठाउँमा आउन कुनै समस्या नरहेको दुवै दलका नेताहरु बताउँछन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जसपाबाट अलग भएका नेता डाक्टर बाबुराम भट्टराईलाई नेकपा समाजवादी केन्द्र बनाउन आग्रह गरिरहेका बेला उहाँको पार्टी र एकीकृत समाजवादी पार्टीबीच एकताको पहल भैरहेको तथ्य बाहिरिएको छ ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई प्रदान गरेपछि नेकपाबाट नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएका थिए भने एमालेबाट पनि एक समूह अलग भएर नेकपा एकीकृत समाजवादीको जन्म भएको थियो ।

नेकपा विभाजन भएको झण्डै एक वर्षपछि फेरि माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी एकीकरणकै अभियानमा जुटेका हुन् । दुई पार्टीबीचको एकताका लागि माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र देव गुरुङका साथै एकीकृत समाजवादीका तर्फबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव डाक्टर बेदुराम भुसालबीचमा पटकपटक छलफल भैरहेको नेताहरुले स्वीकार गरेका छन् ।

पार्टी एकताको प्रयास भैरहे पनि कुन वैचारिक धरातलमा टेकेर हुने र कस्तो स्वरुपमा हुनेमा भने अझै स्पष्ट भइसकेको छैन । तर माओवादी नेता देव गुरुङले दुवै दलको वैचारिक धरातल एकै भएको र हिजो नेकपामा हुँदा पनि सँगै काम गरिसकेकाले अब फेरि एकता भैहालेमा कुनै नौलो नहुने बताउनुभयो ।

वाम गठबन्धन गर्ने चर्चा चलेसँगै सत्ता गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस भने झस्किएको छ । तर एकीकृत समाजवादीका उपमहासचिव तुलाधर भने पाँच दलीय सत्ता गठबन्धन नभत्कने गरी नयाँ समीकरण बन्ने दाबी गर्नु हुन्छ । पाँच दल नभएर दुई घटक मात्रै भएमा नेपाली कांग्रेसलाई पनि सहज हुने तुलाधरको तर्क छ ।

पटकपटक जुट्ने र फुट्ने वाम दलका लागि नयाँ विषय भने होइन । निर्वाचनको मुखमा एकता गर्ने र सत्तामा पुगेपछि भागबन्डा नमिल्दा फुटिहाल्ने रोग कम्युनिष्ट दलहरुको परम्परा जस्तै बनेको छ । प्रतिनिधिसभा निर्वाचन अघि वाम दलबीचमा एकता भैहालेमा कुनै नौलो घटना हुने छैन । तर एकता कति समय टिक्छ भन्ने प्रश्न पनि सँगै आउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्