खेलकूद

कुमार थापा साफ महिला टोलीको प्रशिक्षक नियुक्त

हिमालय टिभी
२०७९ साउन ६ गते १६:१८
कुमार थापा साफ महिला टोलीको प्रशिक्षक नियुक्त

६ साउन २०७९ काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग क्लव एपीएफका प्रशिक्षक कुमार थापालाई शुक्रवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ च्याम्पियनसिपमा सहभागी हुने महिला टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

नेपालमा भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपका लागि एन्फाले आज महिला टिमको प्रशिक्षकमा थापालाई नियुक्त गरेको हो । आज जिम्मेवारी पाएका थापाले यसअघि पनि महिला टोलीको प्रशिक्षण सम्हालिसकेका छन् । महिला फुटबल संघकी पूर्व अध्यक्ष बिन्द्रा देवानलाई टिम व्यवस्थापकको जिम्मेवारी दिइएको एन्फा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपालमा आयोजना हुन लागेको साफ च्याम्पियनपसिपका लागि उपाध्यक्ष तथा कार्यसमितिका सदस्यहरुलाई समेटेर एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजत्वमा १८ सदस्यीय आयोजक कमिटी गठन गरिएको छ ।

यस्तै स्थान व्यवस्थापकमा रविन्द्र चन्द, स्थानीय संयोजकमा विजय घले र प्रतियोगिता सुरक्षा प्रमुखको रुपमा दिनेश व्यञ्जनकार रहेका छन् । त्यस्तै सञ्जिव सिल्पकारलाई बजार व्यवस्थापन, ब्रोडकास्टिङ र प्रतियोगिताको डिजिटल अधिकार दिइएको छ ।

यसअघि १९ औं एशियाली खेलकुदका लागि भने बालगोपाल महर्जनले पहिलो चरणको बन्द प्रशिक्षणमा टोली सम्हालेका थिए । राष्ट्रिय खेलकुद परिषदको मातहतमा भएको प्रशिक्षणमा महर्जनले महिला टोली सम्हालेका थिए ।

नेपालमा तय भएको प्रतियोगिता पूर्व घोषित मितिभन्दा एक सातापछि धकेलिएको छ । यसअघि साफ च्याम्पियनसिप भदौ १३ देखि २५ सम्म आयोजना हुने तालिका थियो । प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र फिफाबाट प्रतिवन्ध फुकुवा भएको पाकिस्तानले पनि प्रतिष्पर्धा गर्ने तालिका रहेको छ ।

नेपालले यसअघि पाँचौं संस्करणको महिला साफ आयोजना गरेको थियो । विराटनगरमा भएको प्रतियोगितामा नेपाल भारतसँग पराजित हुँदा उपविजेता बनेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्