नदी किनारका बासिन्दाका पीडा : ‘राति निन्द्रा नै लाग्दैन’

हिमालय टिभी
२०७९ साउन ५ गते १७:००
नदी किनारका बासिन्दाका पीडा : ‘राति निन्द्रा नै लाग्दैन’

५ साउन २०७९ नवलपुर । गत जेठको अन्तिम साताबाटै यस वर्षको मनसुन सुरुआत भइसकेको छ । नेपालमा मनसुन भित्रिएसँगै मनसुनजन्य प्रकोपको जोखिमका कारण नदी किनारमा बसोबास गर्ने मानिस त्रासमा बाँच्न बाध्य छन् ।

मनसुनजन्य प्रकोपका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) उच्च जोखिममा छ । मनसुनमा बाढी, नदी कटान, डुबान र पहिराका कारण यहाँको जनजीवन प्रभावित हुने गरेको छ । बर्खा सुरु भएसँगै नदी किनारमा बसोबास गर्ने मानिसलाई सबैभन्दा बढी पिरोल्ने गरेको छ ।

मध्यबिन्दु–३ नन्दपुरका जितबहादुर महतोले बर्खा लागेसँगै रातिमा निद्रा हराउने गरेको गुनासो गर्नुभयो । “हिउँदभरी त हामीलाई खासै दुःख हुँदैन”, उहाँले भन्नुभयो, “बर्खा सुरु हुन्छ अनि हाम्रो पीडाका दिनहरु सुरु हुन्छन् ।” बर्खा सुरु भएसँगै कति बेला नारायणी बढेर आउँछ र आफूहरुको उठिबास लाग्ने हो भन्ने चिन्ताले सताउने गरेको स्थानीयवासी महतोले बताउनुभयो । सबै राजनीतिक दलका नेताले चुनावको बेलामा नदी नियन्त्रणको आश्वासन दिएर भोट माग्ने गरेको उल्लेख गर्दै महतोले चुनाव सकिएपछि आफूहरुलाई बेवास्ता गर्ने गरेको गुनासो गर्नुभयो ।

नवलपुर हुँदै बग्ने गरेको नारायणी नदी तथा यहाँ खहरे खोलाबाट बर्सेनि स्थानीय पीडित हुने गरेका छन् । हरेक वर्ष बाढी र पहिराका कारण यहाँका नदी तथा खोलाले वितण्डा नै मच्चाउने गर्छन् । मनसुन सुरु भएदेखि मनसुन नसकिने बेलासम्म आफूहरु ढुक्कसँग निदाउनसमेत नसक्ने गरेको गैँडाकोट–२ का जीवन बोटे बताउनुहुन्छ ।

“बेलुका सुत्दा त ठीकै सुतेका हुन्छौँ तर, रातिमा नदी बढेर घरभित्रै आयो कि भन्ने पीडाले निन्द्रा नै लाग्दैन”, बोटले भन्नुभयो, “राति उठ्दा खाटमुनि पानी पसेको पो छ कि, कतै घर पो डुब्यो कि भन्ने पीडाले सताउने गरेको छ ।” नवलपुर तथा चितवनमा पानी पर्दाभन्दा पनि पहाडतिर पानी परेको सुन्दा र आकाशमा कालो बादल मडारिँदा आफूहरुको मनमासमेत पीडाका भावहरु मडारिने गरेको बोटे बताउनुहुन्छ । नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि राज्यका तीनवटै तहका सरकारले काम गर्नुपर्ने बाटेको भनाइ छ ।

मनसुनका कारण नवलपुरमा सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यबिन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन् । त्यस्तै विनयी त्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढी र पहिराको उच्च जोखिममा छन् । बाढी र पहिराका कारण यहाँ बर्सेनि ठूलो धनजनतको क्षति हुने गरेको छ ।

जिल्लामा मनसुनजन्य प्रकोपबाट करिब ८० हजार परिवार प्रभावित हुने प्रक्षेपण गरिएको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो । स्थानीय प्रशासनले विपद्जन्य जोखिम न्यूनीकरण तथा राहत र उद्धारका लागि पूर्वतयारीका सबै काम गरेको घिमिरेको भनाइ छ । पहिरा, बाढी, डुबान तथा कटानमा परेका नागरिकको उद्धार र राहतको लागि पूर्वतयारीका काम गरेको उहाँको भनाइ छ ।

बाढी पहिरा प्रभावित घरपरिवारको विवरण सङ्कलन गर्ने तथा उनीहरुको व्यवस्थापनमा के कस्ता काम गर्नुपर्छ भन्नेबारेमा पूर्वतयारीका सबै काम गरिएको प्रजिअ घिमिरेले बताउनुभयो । “नदीलाई मूल प्रवाहमा बगाउने, खोलानाला थुनिएको ठाउँमा सफा गर्ने, कटानको जोखिम भएको ठाउँमा तारजाली लगाउने कामहरु गरेका छौँ”, प्रजिअ घिमिरेले भन्नुभयो, “विपद् व्यवस्थापनका लागि सबै पालिकासँग समन्वय गरिएको छ, पूर्वसूचना प्रवाह प्रणालीसमेत सञ्चालनमा ल्याएका छौँ ।”

विपद् व्यवस्थापनका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय, रेडक्रस तथा विषयगत सङ्घसंस्थालाई तालिमसहित तयारी अवस्थामा राखिएको घिमिरेले बताउनुभयो । “सकेसम्म विपद् हुनै नदिने र भइहालेको अवस्थामा विपद् व्यवस्थापनसम्बन्धी तालिम लिएका सुरक्षाकर्मी र अन्य सङ्घसंस्थाका प्रतिनिधिलाई परिचालन गर्नेगरी तयारी थालिएको छ”, घिमिरेले भन्नुभयो, “जिल्लामा इमिडियट रेस्पोन्स टिम निर्माण गरेर विपद् व्यवस्थापनका लागि पूर्वयोजना तर्जुमा लगायतका काम गरेका छौँ ।”

नदी तथा खोला पसेर गाउँ नै सखाप पार्ने अवस्था देखिएकाले तत्काल रोकथामका लागि अपनाउनुपर्ने कामहरु भइरहेको घिमिरेको भनाइ छ । नदी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा दीर्घकालीन काम भने भएको छैन । गाउँ डुबानमा परेपछि उद्धारका लागि सुरक्षाकर्मी पठाउनुभन्दा नदी नियन्त्रणका लागि ठोस काम गर्नुपर्ने जिल्लावासीको माग छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *