Main News

सत्ता र शक्तिको आडमा बलात्कार आरोपी बाबा बन्दैछन् शक्तिशाली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन ३ गते २०:२८
सत्ता र शक्तिको आडमा बलात्कार आरोपी बाबा बन्दैछन् शक्तिशाली (भिडियो रिपोर्टसहित)

३ साउन २०७९ काठमाडौं । सत्ता र शक्तिको आडमा नेपालमा प्रभाव जमाउन खोज्नेको कमी छैन । यसैको उदाहरण बन्नुभएको छ, बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरी ।

गिरीविरुद्ध सुनसरी जिल्ला अदालतमा बलात्कारको मुद्दा विचाराधीन छ । सोमबार, आरोपी गिरीसँग संघीय सरकारका दुई मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र शेरबहादुर कुँवर एउटै मञ्चमा देखिनुभयो । गिरी खुल्मखुल्ला, विना हिच्किचाहट आफ्नो शक्ति प्रदर्शन गर्न तल्लिन हुनुहुन्छ ।

यो तस्वीर पशुपति मन्दिर परिसरमा आयोजित महायज्ञ उद्घाटनको हो । यहाँ बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीसँग सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर एउटै मञ्चमा देखिनुहुन्छ ।

गिरीविरुद्ध एक अनुयायीमाथि २०७६ कात्तिक ४ गते बलात्कार गरेको आरोप छ र उहाँविरुद्धको मुद्दा जिल्ला अदालत सुनसरीमा विचाराधीन छ । पशुपति मन्दिर परिसरमा आयोजित महायज्ञ उद्घाटन कार्यक्रममा दुई मन्त्रीसँगै अन्य नेता र धार्मिक अगुवाहरु सहभागी थिए ।

महायज्ञ उद्घाटनका लागि बोलाएको भन्दै मन्त्री कार्कीले सिद्धबाबाको प्रशंसा गर्न धेरै शब्द खर्चिनुभयो । यो महायज्ञ भइरहेको दृश्य हामी देखाउँदै छौं ।

यहाँ मन्त्री मात्र होइन, धेरै सत्ता र शक्तिका प्रभावशाली व्यक्तिहरु आउने गरेका छन् । यसरी मन्त्री र देशका प्रभावशाली व्यक्तिहरु नै आउँदा आरोपी पक्कै उत्साहित हुने नै भए । गम्भीर प्रकृतिको मुद्दाका आरोपी गिरीसँग मन्त्रीहरु नै देखिँदा मुद्दा प्रभावित हुन्छ नै । मुद्दा किनारा नलागेकै अवस्थामा यो दृश्यले पक्कै पनि पीडितलाई थप पीडा दिनेछ ।

गिरीविरुद्ध २०७६ मंसिर ११ गते अनुयायीले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि हिरासतको अवधि विराट नर्सिङ होममा गुजारेका गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा तारेख लागि छाड्ने आदेश दिएको थियो । तर २०७६ माघ ९ गते उच्च अदालत विराटनगरका तत्कालीन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । गत जेठ ३ गते उच्च अदालत विराटनगरका कामु मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले जबर्जस्ती करणी मुद्दामा सफाइ दिने जिल्लाको फैसलामा गम्भीर त्रुटि देखाउँदै प्रमाण बुझेर पुनः फैसला गर्नुपर्ने फैसला गरेको थियो । उच्चको फैसलापछि मुद्दा जिल्ला अदालत सुनसरीमै फर्किएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *