Main News

शिवालयमा बिहानैदेखि यस्तो चहलपहल

२०७९ साउन २ गते १०:०९
शिवालयमा बिहानैदेखि यस्तो चहलपहल

२ साउन २०७९ काठमाडौं । आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् ।

साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताउनुभयो ।

“बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाएका छौँ”, उहाँले भन्नुभयो, “दुई वर्ष कोभिडले प्रभाव पारे पनि अहिले मन्दिरमा राम्रो चहलपहल छ, उमङ्गको वातावरण छ ।”

अध्यक्ष जिसीले पूजाको व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक खटाइएको बताउनुभयो । भक्तालुको सुविधालाई हेरेर खानेपानीको निःशुल्क प्रबन्ध गरिएको छ । विसं २०५८ मा निर्मित उक्त मन्दिरमा बर्सेनि शिवरात्रि र साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।

बागलुङ –९ तित्याङस्थित शिवालय मन्दिरमा पनि भक्तजनको चहलपहल देखिएको छ । बागलुङ बजार र आसपासका गाउँबाट भक्तालु शिवको पूजाआरधाना गर्न त्यहाँ आउँछन् । काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा हुन्छ ।

विसं २०४० मा दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले स्थापना गर्नुभएको उक्त मन्दिरमा ५०० किलोको शिवलिङ्ग छ । भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्गलाई त्यहाँ प्रतिस्थापन गरिएको हो । उक्त मन्दिरमा बर्सेनि जेठ ११ मा भगवान् शिवको रथयात्रा पनि निकाल्ने गरिन्छ । शिवरात्रि, बालाचर्तुरदशीलगायतका पर्वमा त्यहाँ धार्मिक मेला लाग्छ ।

गलकोट–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिरसहित यहाँका सबै शिवालयमा साउने सोमबारभर भक्तालुको भीड लाग्छ । सिद्धेश्वरमा शिवलिङ्ग मण्डप पनि निर्माण गरिएकाले भक्तजन आकर्षित हुने गरेका छन् ।

ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ । शिवलाई देवाधिदेव महादेवका रुपमा पुजिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *